१३ असार २०८३, शनिबार

उपत्यकामा कोरोना सङ्क्रमण उच्च

भदौ १, २०७७
उपत्यकामा कोरोना सङ्क्रमण उच्च

कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडाैं उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ ।

दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हालसम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह गरे।

राजधानी काठमाडौँसँगै देशभर कोरोना सङ्क्रमण दिनहुँ बढ्दै गएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हालसम्मकै धेरै हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पर्सामा ४७ वर्षीय पुरुष र मोरङकी ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ ।

घरबाहिर ननिस्कन आग्रह
यसैबीच काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका विभिन्न वडामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठका अनुसार शनिबारसम्म ३१ जनामा सङ्क्रमण देखिएको र अन्य केहीको कन्ट्याक टे«सिङको नतिजा आउन बाँकी रहेको छ ।

यसैबीच नगरप्रमुख रामेश्वर बोहराले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र बाहिर आउनैपर्दा माक्स लगाएर मात्रै हिँड्न नगरवासीमा आग्रह गरेका छन् ।

त्यसैगरी काठमाडौँ महानगर वडा नं. ३२ कोटेश्वर क्षेत्रमा हालसम्म ५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो पटक सहयोगी नगरमा दुई जना कोरोना सङ्क्रमितको सङ्ख्या थपिएपछि वडामा सङ्क्रमितको सङ्ख्या ५५ पुगेको हो । यीमध्ये चार जना सङ्क्रमणमुक्त भएका छन् भने ५१ जना उपचाररत रहेको कार्यपालिका सदस्य हीरादेवी पोखरेलले बताइन् । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्