
खाडी मुलुक बहराइनमा रहेको एक पसलमा हिन्दू देवीदेवताका मूर्ति तोड्ने महिलाविरुद्ध कानूनी कारवाही गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
राजधानी मानामामा खिचिएको एक भिडियोमा ती महिलाले पसलभित्र भगवान गणेशको मूर्ति फुटाएको देखिन्छ ।
भिडियोमा उनले बहराइन मुसलमानहरूको देश भनेको सुनिन्छ ।
प्रहरीले ट्विटरमा बयान जारी गर्दै ५४ वर्षीया महिलाविरुद्ध कारवाही चलाइएको र अभियोजकर्ताकहाँ पठाइएको बतायो ।
पसलमा तोडफोड गरेको र एक सम्प्रदायको अपमान गरेको आरोपमा महिलामाथि कानूनी कारवाही गरिएको हो ।
बहराइनका एक उच्च अधिकारीले यसलाई घृणाबाट प्रेरित कार्य भन्दै महिलाको आलोचना गरेका छन् ।
शाही परिवारका सल्लाहकार खालिद बिन अहमद अल खलीफाले एक ट्वीट गर्दै धार्मिक प्रतीकहरूलाई तोडफोड गर्नु बहराइनीहरूको चरित्र नभएको बताए । यस्तो घृणावादी कामलाई आफूहरूले अस्वीकार गरेको उनले बताए ।
बाहिरबाट आएका मानिसले यस्तो काम गरेको उनको भनाइ छ । बहराइनमा लगभग १७ लाख मानिस बस्छन् र तीमध्ये आधाजति बाहिरबाट आएका आप्रवासी हुन् ।
लाखौं प्रवासी कामदार बहराइनमा बस्छन् र अधिकांश एसियाली मूलका छन् ।