
अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले भारतीय मूलका अमेरिकीहरूका लागि भिजन डकुमेन्ट जारी गरेका छन् ।
त्यसमा उनले भनेका छन्, ‘कोरोना महामारीविरुद्ध लड्ने, अर्थतन्त्रलाई सुधार गर्ने र आप्रवास सम्बन्धी सुधारका लागि भारतीय मूलका अमेरिकीहरू बाइडन–ह्यारिस प्रशासनमा विश्वास गर्न सक्छन् ।’
चुनावमा भारतीय मूलकी कमला ह्यारिस उपराष्ट्रपति पदको उम्मेदवार हुन् ।
यसअघि बाइडनले अमेरिकी मुसलमानहरूका लागि भिजन डकुमेन्ट जारी गरेका थिए । त्यसमा उनले कश्मीरको विषय र राष्ट्रिय नागरिकता पञ्जीकरणको विषय उठाएका थिए । त्यसले अमेरिकी भारतीयहरूलाई क्रुद्ध बनाएको थियो ।
अमेरिकी भारतीय, विशेषगरी कट्टर हिन्दू, हरूको झुकाव डोनल्ड ट्रम्पतर्फ रहेको बताइन्छ किनकि उनलाई भारत समर्थकका रूपमा हेरिन्छ । कश्मीर र विवादास्पद नागरिकता संशोधन कानूनमा विषयमा ट्रम्प प्रशासनले खासै प्रतिक्रिया दिएन । प्रमिला जयपाल र बर्नी स्यान्डर्स जस्ता डेमोक्रेट नेताहरू चाहिँ यी विषयमा बोलिरहन्छन् ।
सन् २०१९ को सेप्टेम्बर महिनामा अमेरिकाको ह्युस्टनमा आयोजित हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी थिए । सन् २०२० को फेब्रुअरी महिनामा ट्रम्पले गरेको भारत भ्रमणका क्रममा मोदीले गरेको भव्य स्वागतले पनि अमेरिकी भारतीयहरूलाई उनीप्रति झुकाव दिलाएको हो ।
डेमोक्रेटहरूमाझ अमेरिकी भारतीयहरूको एक समूहले केही डेमोक्रेट नेताको बयानबाट ट्रम्पलाई फाइदा हुन सक्ने धारणा राख्छन् ।
त्यसै पनि जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० हटाइएपछि र त्यसपछि लगाइएको प्रतिबन्धका विषयमा कमला ह्यारिसको दृष्टिकोण भारत सरकारको भन्दा भिन्न छ ।
सन् २०१९ मा उनलाई यस विषयमा प्रश्न गरिँदा उनले कश्मीरीहरू एक्लो नरहेको र उनीहरूमाथि आफूहरूले निगरानी गरिरहेको बताएकी थिइन् । मानवअधिकार उल्लंघनका विषयमा आफूहरूले बोल्ने र आवश्यक परेमा हस्तक्षेप पनि गर्ने लक्ष्य रहेको उनले बताएकी थिइन् ।
बाइडनको निर्वाचन अभियानअनुसार, अमेरिकामा लगभग १३.१ लाख अमेरिकी भारतीय भोटर छन् जसको मतले आठवटा निर्वाचन क्षेत्रमा प्रभाव पार्न सक्छ ।
निर्वाचनको तयारीमा जुटेको ट्रम्प खेमा पनि भारतीय अमेरिकी भोटरको ठूलो समूहको समर्थनको आशा गरिरहेको छ ।