
पार्टीभित्र देखिएको विवाद समाधानबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान १० बजेपछि शुरू बैठकमा सहमति गर्न गठित कार्यदल अनुमोदनबारे छलफल भइरहेको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा नेकपा विवाद समाधानका लागि प्याकेजमा सहमति गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।
बैठकको शुरूमै प्रचण्डले कार्यदल गठन गर्नुको कारणबारे सदस्यहरूलाई जानकारी गराएका छन् । सहमति खोज्न गठित कार्यदलले शनिवारदेखि नै आफ्नो काम शुरू गरेको छ ।
सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
कार्यदल गठन गर्ने शुक्रवारको सहमतिपछि नेकपा विवाद समाधानउन्मुख भएको थियो ।