
पार्टीभित्र देखिएको विवाद समाधानका लागि सहमतिको खाका बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदललाई नेकपा सचिवालय बैठकले अनुमोदन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कार्यदल गठन गरेकोमा सचिवालय बैठकले अध्यक्षद्वयलाई धन्यवाद पनि दिएको छ ।
'संकटको निकासका निम्ति भैरहेको छलफललाई टुंगोमा पुर्याउन अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न पहल गर्नुभयो, यसलाई बैठकले सकारात्मक रूपमा लिँदै यसका निम्ति धन्यवाद दिएको छ,' प्रवक्ता श्रेष्ठले भने ।
कार्यदललाई छिटोभन्दा छिटो सुझाव पेश गर्न निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले बताए ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा शुक्रवार ६ सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र शंकर पोखरेल सदस्य छन् ।
कार्यदल गठन गर्ने दुई अध्यक्षको निर्णयलाई सचिवालयबाट अनुमोदन गराउन माधव नेपाल लगायतका नेताहरूले माग गरेका थिए ।
सहमति खोज्न गठित कार्यदलले शनिवारदेखि नै आफ्नो काम शुरू गरेको छ ।
सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।