
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले प्रभावकारी ढंगले काम गर्ने भएको छ ।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको नेकपा सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको थियो । कार्यदलले शनिवारदेखि नै आफ्नो काम शुरू गरिसकेको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले राष्ट्रका सामु देखापरेका कार्यभार पूरा गर्न पार्टी सक्षम हुनेगरी सुझाव दिने अपेक्षा गरिएको बताए ।
‘केही समययता पार्टीमा देखा परेको समस्याको समाधान र संकटको निकासका लागि भइरहेको छलफललाई व्यवस्थित ढंगले टुंगोमा पुर्याउन । अध्यक्ष ओली–प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न जुन पहल गर्नुभयो, सकारात्मक पहल गर्नुभएकोमा बैठकले धन्यवाद दिएको छ,’ श्रेष्ठले भने ।
सोमवारको बैठकको शुरूमा प्रचण्डले कार्यदल गठन गर्नुपर्नाको कारणबारे जानकारी गराएका थिए । कार्यदलले ल्याउने प्रस्ताव अनुसार सहमति खोज्न प्रचण्डले प्रस्ताव गरेका थिए ।
‘आजबाट समस्या समाधान सुझाव कार्यदल, नेपाल कम्युनिस्ट पार्टीको बैठक शुरू भएको छ, बैठक सकारात्मक र समस्या समाधान गर्ने विश्वास का साथ अगाडि बढेको छ,’ कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले शनिवार ट्वीटरमा सन्देश लेखेका थिए ।
कार्यदलका अर्का एक सदस्यका अनुसार सचिवालय बैठकले अनुमोदन गरेपछि कार्यदललाई काम गर्न सजिलो भएको छ । ‘कमिटीबाट अनुमोदन भएपछि हामीलाई काम गर्न सजिलो भएको छ, पार्टीभित्रको विवादलाई निकास दिनेगरी सहमतिको खाका बनाउँछौं,’ ती सदस्यले भने ।
कार्यदलका सदस्यले सहमति नहुँदासम्म मिडियामा केही नबोल्ने आचारसंहिता बनाएका छन् । कार्यदलले सरकार र पार्टी सञ्चालनका लागि केही विधि प्रस्ताव गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिका आधारमा अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम सञ्चालन गर्ने तथा प्रचण्डलाई विश्वासमा लिएर ओलीले सरकार सञ्चालन गर्ने गरी सहमतिको खाका बनाउन कार्यदललाई म्यान्डेट दिइएको छ ।
दुई अध्यक्षबीच पटक–पटक भएको छलफलपछि सहमति गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, र शंकर पोखरेल सदस्य छन् ।
कार्यदलले दिने सहमतिको खाकालाई सचिवालय र स्थायी कमिटी बैठकबाट अनुमोदन गरिने प्रवक्ता श्रेष्ठले बताए ।
सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।