१९ असार २०८३, शुक्रबार

प्रचण्डकै अगाडि प्रधानमन्त्रीलाई देउवाका ३ हमला : गम्भीर गल्तीको जवाफदेहिता लिनुपर्दैन ?

प्रचण्डकै अगाडि प्रधानमन्त्रीलाई देउवाका ३ हमला : गम्भीर गल्तीको जवाफदेहिता लिनुपर्दैन ?
फाइल फोटो

नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोना महामारीदेखि पहिरोपीडितका समस्यासम्मका विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमवार बालुवाटारमा भएको संयुक्त भेटमा देउवाले भेन्टिलेटर तथा आइसोलेसनको पर्याप्त व्यवस्था गर्न किन नसकेको ? भन्दै प्रश्न गरे ।

साथै उनले सिन्धुपाल्चोकको लिदीका बासिन्दाले आफूहरू जोखिममा रहेको भनेर गुहार गर्दा पनि नसुनेकोमा सरकारको आलोचना गर्दै यस्तो गम्भीर गल्तीको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

लिदीमा शुक्रवार गएको पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए, जसमध्ये २२ जनाको शव भेटिएको छ ।

हेर्नुहोस्, देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका ३ बुँदा :

१. सिन्धुपाल्चोकको जुगल गा.पा.को लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँवासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद् भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशका अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भूमिका सन्तोषजनक देखिएन । व्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२. कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीव्र गतिमा विस्तार भएको छ । बढ्दो चुनौती सामना गर्न सक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?

३. त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ ।  निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमताभन्दा राजनैतिक पूर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरूको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरूसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।

salt training

कमेन्ट गर्नुहोस्