०४ असार २०८३, बिहीबार

सुन ठग्ने सुन्दरी– ठगेरै महंगो फ्ल्याट र हाइफाइ जीवनशैली !

भदौ १, २०७७
सुन ठग्ने सुन्दरी– ठगेरै महंगो फ्ल्याट र हाइफाइ जीवनशैली !

सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका– ३१ नयाँबानेश्वर बस्ने रञ्जित (नाम परिवर्तन) ले लकडाउन खुलेसँगै आफ्नो व्यवसाय पनि सुचारू गरे । उनी ज्वेलरी (सुन पसल) सञ्चालन गर्छन् ।

पसल खोलेपनि १०/१५ दिनमा खासै व्यापार भएन । फाट्टफुट्ट ग्राहक त आए, तर सुनको मूल्यमा भएको अस्वाभाविक वृद्धिका कारण किन्ने भन्दा बेच्ने ग्राहक बढी आउँथे ।

एक दिन एकजना युवती आइन् । देख्दा सम्पन्न परिवारको जस्तो देखिने ती युवतीले पसलमा आएर डेढ तोलाको एउटा सिक्री चाहिएको बताइन् ।

पसलमा लगभग १ घण्टा बस्दा उनको बोलिचाली, हाउभाउ हेर्दा खानदानी छोरीजस्ती देखिन्थिन् ।

रञ्जितलाई लाग्यो, आजको व्यापार राम्रै हुने भयो । ती केटीले बनाइराखेको सिक्री छानिन्, उनले भनेजस्तै डेढ तोलाको सिक्री पाइन् । 

रञ्जितले त्यो बेलासम्म उनलाई राम्रै सम्मान पनि गरे । चिया खुवाए, चिसो खुवाए । उनलाई लाग्छ, ग्राहक भगवानका रूप हुन् ।

पैसा दिने बेलामा आफूले क्यास (नगद) ल्याउन भुलेकाले चेक मिल्ने भए चेक दिने बताइन् ।

उनले सहजै स्वीकारे, देख्दा सम्पन्न लाग्ने केटीको बैंक खातामा पैसा त पक्कै होला ! रञ्जितले चेक स्वीकारे ।

ती युवती सिक्री लिएर आफ्नो गन्तव्यतर्फ लागिन् ।

रञ्जित तत्कालै बैंकमा गए । बैंकमा पुगेपछि थाहा भयो, पैसा नभएको खाताको चेक दिएकी रहिछन्, चेक बाउन्स भयो ।

उनी छाँगाबाट खसे जस्तै भए । चेक बाउन्स भएपछि उनले तत्काल महानगरीय अपराध महाशाखामा उजुरी दिए ।

****

बन्दाबन्दीभन्दा अगाडि न्युरोडको एक गहना पसलमा एक युवती आइन् । घाँटीमा र हातमा सुनका गरगहनाले सजिएकी ती युवतीले आफूलाई हिराको औंठी चाहिएको बताइन् ।

पसलमा रहेका कामदारहरूले उनलाई हिराको औँठी छानीछानी देखाए । उनले केही समय लगाएर एउटा औँठी छानिन् । त्यति बेलासम्म पसलेले उनलाई चिया, चिसोलगायत खुवाइसकेका थिए । 

उनले औँठी किनेपछि पैसा दिने बेला क्रेडिट कार्ड र पैसा ल्याउन बिर्सेको भन्दै चेक लिने भए औंठी लैजाने बताइन् । 

हेर्दा सम्पन्न परिवारको जस्तो देखिने उनीसँग चेक लिँदा फरक नपर्ने लागेर पसलेले चेक लिएर उनलाई औँठी दिए । अन्य समयमा पनि अन्य ग्राहकहरूले पनि चेक दिएर सामान लैजाने गरेका थिए ।

सोही दिन चेक साट्न जान पाएनन् । अर्को दिन अन्य चेकहरूसँगै एकमुष्ट बैंकमा हालिदिए ।

तेस्रो दिन बैंकले एउटा चेक बाउन्स भएको खबर गर्‍यो । त्यो चेक तीनै युवतीको थियो । पसलले सम्पर्क गर्न खोज्दा फोन सम्पर्क पनि भएन् ।

त्यसपछि लकडाउन भयो, उनीहरूले प्रहरीलाई उजुरी दिन गएका थिएनन्, प्रहरीले एक जना युवतीलाई पक्राउ गर्‍यो अरू कोही ठगिएको भए सम्पर्कमा आउनु भन्दै फोटो सार्वजनिक गर्‍यो ।

फोटो देख्नेबित्तिकै उनले चिनिहाले, तिनै युवती थिइन् ती ।

सुन पसलमा गएर चेक दिने र सुन पसलेलाई प्रभावमा पारेर ठग्ने युवती थिइन्, झापा शान्तीनगर नगरपालिका वडा– ६ की २९ वर्षीया शारदा मगर । 

काठमाडौंको सानो गौचरनमा फ्ल्याट लिएर बस्दै आएकी २९ वर्षीया मगरले सुन पसलेलाई प्रभावमा पारेर ठग्ने कुरालाई नै आफ्नो पेशा बनाएको पाइएको अपराध महाशाखाले जनाएको छ । 

उनले विभिन्न समयमा गरेर ४ लाख ३६ हजार रुपैयाँ बराबरको सुन ठगेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाले साउन २८ गते बेलुका ८ बजे ज्ञानेश्वरबाट पक्राउ गर्‍यो ।

सुन ठगेर ज्ञानेश्वरमा महंगो फ्ल्याट लिएर बस्ने गरेकी शारदालाई प्रहरीले उनी बस्ने फ्ल्याटबाटै पक्राउ गरेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए । 

विवाह भएर एक सन्तानकी आमा शारदाको श्रीमानसँग भने सम्बन्धविच्छेद भइसकेको छ ।

उनले विभिन्न ठाउँका गहना पसलमा जाने, आफूलाई सम्पन्न परिवारको जस्तो देखाउने र सुन ठग्ने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता कार्कीले बताए । 

एसपी कार्कीका अनुसार उनले एउटा पसलबाट ठगेको सुन अर्को पसलमा लगेर बेच्ने वा धितोमा राखेर पैसा ल्याउने गरेको खुलेको छ । 

त्यही काम गरेर उनले काठमाडौंमा महँगो फ्ल्याटमा बस्ने र हाइफाइ लाइफ बिताउने गरेको पाइएको छ ।

उनले विभिन्न समयमा गरेर डेढ तोलाको सिक्री एक थान, ४५ लालको सुनको लकेट १ थान, १ तोला ५२ लालको सुनेको ब्रासलेट, एउटा हिराको औँठी र ३५ लालको सुनको औँठी ठगी गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ । 

मगरलाई मुलुकी अपराध (संहिता) ऐन–२०७४ को दफा २४९ (३) (ग) अनुसार सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्