
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन कक्षको वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले अनुगमन गरेका छन्।
सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५ सय श्ययाको आइसोलेसन कक्ष बनाउन निर्देशन दिएपछि भक्तपुर अस्पतालको नेतृत्वमा हाललाई २ सय श्ययाको आइसोलेसन बनाएपछि शनिबार मन्त्री दुलालले अनुगमन गरेका हुन्।
सो अवसरमा उनलाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले आइसोलेसनको बारेमा जानकारी गराए। त्यसैगरी मन्त्री दुलालले भक्तपुर अस्पतालमा निर्माण भएको सघन उपचारकक्ष (आइसीयू) र आइसोलेसन सेन्टरको अनुगमन गरे।
अनुगमनका क्रममा अस्पतालका अध्यक्ष सुवाल र मेसु डा गौतमले सरकारको निर्देशनानुसार भक्तपुर अस्पतालमा ३० श्यया आइसीयू र आइसोलेसन तथा खरिपाटीस्थित २०८ श्यया गरी २३८ श्यया तयार गरिएको जानकारी गराए। खरिपाटीस्थित आइसोलेसनमा शनिबार १० र भक्तपुर अस्पतालमा चार बिरामी आइसोलेसनमा राखिएको उनीहरुले जानकारी दिए।
मन्त्री दुलालले भक्तपुर अस्पतालले खरिपाटीको आइसोलेसनलाई २ सयबाट बढाएर ५ सय श्यया पुर्याउन निर्देशन दिए।
उपचारबाट कोही पनि बञ्चित हुन नहुने भन्दै उनले भक्तपुर अस्पतालमा थप दुईवटा भेन्टिलेटर भोलि नै प्रदेश सरकारको तर्फबाट पठाइदिने बताए।