१० असार २०८३, बुधबार

‘कोरोना भाइरस दुई वर्षभित्रमा अन्त्य हुन सक्छ’

भदौ ७, २०७७
‘कोरोना भाइरस दुई वर्षभित्रमा अन्त्य हुन सक्छ’
डा. टेड्रोस एड्हानोम गेहब्रेयसस

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी २ वर्षभित्र नियन्त्रणमा आउने आशा गरेको छ ।

जेनेभामा बोल्दै डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्पेनिस फ्लु’ नियन्त्रणमा आउन २ वर्ष लागेको बताए । तर हाल प्रविधिको उच्च विकाससँग यो भाइरस ‘कम समयमा’ नियन्त्रणमा आउन सक्ने उनको भनाइ छ ।

‘पक्कै पनि बढ्दो सम्बन्धका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ,’ उनले भने, ‘तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ ।’ भाइरस नियन्त्रणका लागि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धता आवश्यक पर्ने गेहब्रेयससले बताए ।

सन् १९१८ को स्पेनिस फ्लुका कारण कम्तीमा ५ करोड मानिसको ज्यान गएको थियो भने ५० करोड संक्रमित भएका थिए । कोभिड–१९ को संक्रमणका कारण हालसम्म करिब ८ लाख मानिसले ज्यान गुमाएका छन् भने २ करोड ३० लाख जनामा संक्रमण पुष्टि भइसकेको छ ।

महानिर्देशक गेहब्रेयससले महामारीका बीच व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सँग सम्बन्धित प्रश्नको सम्बोधन गर्दै त्यसलाई अपराधको संज्ञा दिए । ‘कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन,’ गेहब्रेयससले भने ।
‘वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्याजस्तै हो किनकि स्वास्थ्यकर्मीहरूले पीपीईबिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो र सेवा गर्ने मानिसको ज्यानसमेत जोखिममा पर्छ ।’

उक्त प्रश्न दक्षिण अफ्रिकासँग सम्बन्धित भए पनि अन्य विभिन्न मुलुकमा समेत पीपीईमा भ्रष्टाचार भएको देखिएको छ । कोभिड–१९ महामारीका समयमा भएको अनियमितताको विरोधमा केन्याको राजधानी नैरोबीमा शुक्रबार प्रदर्शन गरिएको थियो । सार्वजनिक अस्पतालका चिकित्सकहरू आफूहरूलाई तलब नदिइएको तथा पीपीई अभाव भएको भन्दै हडतालमा उत्रेका छन् ।

त्यस्तै डब्लूएचओले मेक्सिकोमा भएको कोभिड–१९ को परीक्षण तथा नियन्त्रणबारे पनि प्रश्न उठाएको छ । मेक्सिकोमा प्रतिएक लाखमा जम्मा ३ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ । जबकि अमेरिकामा प्रतिएक लाखमा १ सय ५० जनाको परीक्षण भएको छ ।

कोभिड–१९ का कारण मेक्सिकोमा मृत्यु हुनेको संख्या ६० हजार छ जुन विश्वकै तेस्रो हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मेक्सिकोमा ५ लाख ५० हजार जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतमा एकै दिन करिब ७० हजार संक्रमित
भारतमा कोभिड–१९ बाट एकै दिन करिब ७० हजार संक्रमित भएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९ हजार ८ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै संक्रमित हुनेको संख्या झन्डै ३० लाख पुगेको छ । मन्त्रालयका अनुसार शनिबार साँझसम्म भारतमा कुल संक्रमितको संख्या २९ लाख ७५ हजार ७ सय १ पुगेको छ । संक्रमितमध्ये २२ लाख २२ हजार ५ सय ७८ जना निको भएका मन्त्रालयले जनाएको छ ।

भाइरसका कारण भारतमा शनिबार साँझसम्म मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ । मन्त्रालयका अनुसार तीमध्ये ९ सय ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मृतकको संख्या महाराष्ट्र राज्यमा सबैभन्दा बढी छ । महाराष्ट्रमा कोभिड–१९ का कारण २१ हजार ६ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरियामा देशव्यापी निषेधाज्ञा
कोभिड–१९ को संक्रमण फेरि बढ्न थालेपछि दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा जारी गरिएको छ । समूहमा भेला हुन तथा रात्रिकालीन गतिविधिमा रोक लगाइएको छ भने चर्च, खेलकुद तथा अन्य व्यापारिक केन्द्रलगायत बन्द गरिएका छन् ।

स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिमा देशभरि नै रोक लगाइएको जनाएका छन् । दक्षिण कोरियामा शनिबार थप ३ सय ३२ जनामा कोभिड–१९ को संक्रमण देखिएको उनले जनाए । करिब ५ महिनायता एकै दिन संक्रमण पुष्टि भएको यो ठूलो संख्या हो । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्