०७ असार २०८३, आइतबार

चितवन घटनामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन : शान्ति समाज

भदौ ७, २०७७
चितवन घटनामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन : शान्ति समाज

मानव अधिकार तथा शान्ति समाजले चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङमाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरी अमानवीय दमन भएको ठहर गरेको छ ।

घटनास्थल पुगी स्थलगत रुपमा अध्ययनपछि तयार भएको प्रतिवेदन आइतवार सार्वजनिक गर्दै शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चेपाङको परिवार, यातना पीडित र सरोकार भएकासँग भेट गरी अध्ययन अनुगमन गरेको जनाएको छ ।

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारलाई सेनाले यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन शुरू गरेको थियो । घटनामा संलग्न सैनिक जवानलाई कानूनअनुसार कारवाही गर्न अध्ययन टोली संयोजक एवं शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले माग गरेका छन् ।

दोषीलाई कारबाही गरेको विवरण सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान एवं संरक्षण गर्न प्रतिवद्ध रहेको सबै सामु विश्वस्त पार्न पनि उनले अनुरोध गरे । राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपूर्ति र यातना पीडितको स्वास्थ्य उपचारको सम्पूर्ण प्रबन्ध मिलाउन पनि प्रतिवेदनमा सरकारसँग माग गरिएको छ ।

अति सीमान्तकृत चेपाङ्ग समुदायमाथि भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न जातिको उत्थानको लागि राज्यले ठोस रुपमा योजना लागू गर्नपर्ने समाजको माग छ । चितवनको माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीको घर आगजनी गरी बिचल्लीमा पारेको क्रुर घटनाप्रति शान्ति समाजले घोर निन्दा र भत्र्सना गर्दै उनीहरूको बसोवासको उचित प्रबन्ध मिलाउन जोडदार माग गरेको छ ।

अनुगमन टोलीले मृतकका परिवार, यातना पीडित, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका व्यक्तिसँग छलफल गरेको थियो । सामाजका उपाध्यक्ष खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्वय श्यामसुन्दर पराजुली र बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुङ्गानाको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्