२४ असार २०८३, बुधबार

चितुवासँग ६९ वर्षेको पौंठेजोरी

भदौ ८, २०७७
चितुवासँग ६९ वर्षेको पौंठेजोरी
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

साम्दीको जंगलछेउको घर । खेतबारीमा बाँदरका हूल आइरहन्छन् । फलफूल र बाली खाइदिएर हैरान पार्ने भएकाले धपाइरहनुपर्छ ।

नेपाली सेनाका उपसेनानीबाट अवकाशयता धेरै वर्षदेखि बेंसीसहर–७ का हरिबहादुर थापाको दैनिकी खेतबारीमा काम गर्ने, घाँस काट्ने र गाउँलेसँग गफिएर बित्छ । ६९ वर्षीय थापाले आइतबार बिहान ७ बजेतिर खेतको डिलैमा रहेको खनियोको घाँस काटेर ल्याए । घाँसको भारी आँगनमा बिसाउँदै गर्दा खेतमा बाँदर कराएको आवाज आयो । धपाउन खेततिर दौडिए ।

करिब १५ मिटर परको खलेगरानजिकै धानका बोट हल्लिए । बाँदर धपाउन लम्किएका उनी झसंग भए । नजिकै खेतको डिलमा उक्लिएको चितुवा अगाडि थियो । केही डराएको आवाजमा उनले ‘हैट, हैट’ भन्दै कराए । चितुवा भागेन । बरु फुर्तिलो तालले अघि बढेर उनलाई झम्टियो । आत्तिँदा पनि उनको हात कम्मरमा भिरेको आँसी (डाले घाँस काट्ने घरेलु हतियार) मा गयो । ‘म हैट हैट गर्दै थिएँ । चितुवा एक्कासि ममाथि जाइलाग्यो । मैले न गुहार भन्ने मौका पाएँ, न केही सोच्नै सकेँ,’ उनले भने, ‘चितुवाले मलाई लडायो । हातमा आँसी थियो । अन्धाधुन्ध हानें । भाग्ने प्रयास गरेँ । चितुवाले झनै झम्ट्यो । मैले फेरि अन्धाधुन्ध हानें । पछि चितुवा गल्यो ।’ ५/७ मिनेट चलेको घम्साघम्सीमा चितुवा गल्यो र आँसीको चोट खप्न नसकेर केही पर गएर लम्पसार पर्‍यो ।

थापा दौडेर चिच्याउँदै घर आए । उनले चितुवा मरेको लख काटे । थापा दौडेर आएपछि मात्रै घर परिवार र छिमेकीले थाहा पाए । परिवारका महिलाहरू ऋषि पञ्चमीको दिन पूजापाठमा व्यस्त थिए । उनी घर फर्किएपछि ‘के भयो ?’ भन्दै छिमेकी आए । ‘चितुवा मारेर आएपछि म अलि अलि डराएछु । मै मरेको भए के हुन्थ्यो ? भन्ने पनि सोचेँ,’ उनले भने । चितुवासँगको घम्साघम्सीमा उनले आफूलाई कहाँ चोट लाग्यो भनेर केही भेउ पाएनन् । घर आएर हेरेपछि पाखुरामा नङ्ग्राले पारेका गहिरो चोट देखे । हातखुट्टा, घुँडा र ढाडतिर चोट लागेको रहेछ । छिमेकी रवि थापाका अनुसार चितुवासँग लड्ने हरिबहादुरको हिम्मतको गाउँलेले प्रशंसा गरेका छन् ।

रातको समय चितुवा आएर खोरबाट बाख्रा लैजानु बस्तीका लागि नौलो घटना थिए । तर गाउँमा यसअघि चितुवा दिउँसै देखिएको थिएन । ‘चितुवा दिउँसै गाउँ पसेको यो पहिलोपटक हो,’ हरिबहादुरले भने, ‘सिकार खोज्दै आएको हुनुपर्छ ।’ जीउभरि चोट लागेका थापालाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा चितुवा मरेको पाइएको छ । मरेको चितुवालाई सव–डिभिजन वन कार्यालय बेंसीसहरले व्यवस्थापन गरेको छ । चितुवालाई कार्यालय परिसरमा गाडिएको छ । सहायक अधिकृत नारायणप्रसाद कोइरालाका अनुसार वृद्धलाई आक्रमण गर्ने चितुवा करिब डेढ वर्ष उमेरको पोथी हो । टाउकोदेखि पुच्छरसम्म लम्बाइ ५ फुट ६ इन्च र उचाइ १ फुट ११ इन्च थियो । डिभिजनल वन अधिकृत मोहनराज काफ्लेका अनुसार वन्यजन्तुबाट घाइते भएकाको उपचार खर्च सरकाले दिने व्यवस्था छ । ‘आइतबारको घटना सरसर्ती हेर्दा जीवनरक्षाका लागि प्रतिकार गर्दा चितुवा मरेको देखिन्छ,’ उनले भने, ‘हामीले मुचुल्का उठाएर घटनाको छानबिन थालेका छौं । कान्तिपुर दैनिकमा आश गुरुङले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्