
सिन्धुपाल्चोकका बाढीपहिरोबाट विस्थापित भएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ।
सभामुख अग्निप्रसाद सापकोटाको पहलमा साेमबार सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त वस्तीको प्राविधिक अध्ययन तथा पुनःसर्वेक्षण गर्ने, पहिरोबाट बेपत्ता भएकाको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त वस्तीको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्कालीन राहतको व्यवस्था गर्ने छ। यस्तै जोखिमयुक्त वस्तीबाट स्थानान्तरण गरिने परिवारका लागि स्थानीय तहले सुरक्षित जग्गा व्यवस्थापनको काम गर्ने छ।
यस्तै छलफलमा जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट संकलन भई राज्य कोषमा रहेको रकम यथाशीघ्र निकासा गर्ने, सिन्धुपाल्चोकमा विस्थापितको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउने निर्क्यौल गरिएको छ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा.युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, वसन्त कुमार नेम्वाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङको सहभागिता रहेको थियो।
त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति सुरेश नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ उपस्थित थिए।
त्यसैगरी छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सिन्धुपाल्चोक सह इन्चार्ज माधव सापकोटा, बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको पनि उपस्थिति रहेको थियो।
सिन्धुपाल्चोक जिल्लामा २०७७ असार र साउन महिनामा मात्र बाढीपहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ बेपत्ता छन्। त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।