
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मंगलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ।
यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।
कोभिड ९१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो। मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो। नियमित उडान भने भदौ १६ देखि हुनेछ । त्यसअघि उद्धार उडान शुरु हुन लागेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ। मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिए।
उडान तालिकानुसार मंगलबार युएईको सारजहाँबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ।
बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ।
नेपालका दुई नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ। त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ।
सोही दिन युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ। एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन्। नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिपोर्ट हुनुपर्नेछ।
सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र खर्च उनीहरुले नै बेहोर्नुपर्नेछ। टर्किस र कतार एयरले एक उडानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले बनाएको उडान तालिकामा उल्लेख छ।
सीसीएमसीको विवरणअनुसार भदौ ७ गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५२ हजार २५१ रहेको छ।