
नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई २ अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ ।
नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म ४ हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
मुआब्जावापत आयोजना प्रभावितलाई कूल २ अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ उपलब्ध गराइएको छ । आयोजना निर्माणका लागि सरकारले ४६५ घर तथा ३ हजार ९३३ कित्ता अर्थात् ४ हजार ६०५ रोपनी जग्गा अधिग्रहण गरेको छ ।
साविकका जग्गाधनीलाई प्रतिरोपनीको ६ लाखका दरले मुआब्जा रकम उपलब्ध गराएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । मुआब्जा पाउनेको नामावली २०७६ भदौ २७ गते सार्वजनिक गरिएको थियो । आयोजनाको विद्युत् गृह क्षेत्र नलागाड नगरपालिका–७ र बाँधस्थल बारेकोट गाउँपालिका–१, २, ५, ६, ७, ८ र ९ नम्बर वडामा पर्छ ।
नलगाड वातावरणमैत्री, डुबान क्षेत्र कम रहेको, जलाशयको आयु दिगो हुने, खेतीयोग्य जमिनको न्यून क्षति हुने र भौगर्भिक अवस्था मजबुत भएको आयोजना मानिएको छ । आयोजनाका कारण १ हजार २०० घरधुरीका ७ हजार स्थानीय मात्र प्रभावित हुनेछन् ।
मुआब्जा वितरण सकिएपछि घरटहराको क्षतिपूर्ति वितरण हुनेछ । त्यसका लागि करीब ४० करोड कम्पनीको खातामा आइसकेको छ तर घरटहराका लागि उक्त रकम अपुग हुने देखिएको छ । ‘हाम्रो मूल्यांकनमा बाँधस्थलका करीब ५०० घरटहराका लागि १ अर्ब खर्च लाग्ने देखिएको छ,’ इन्जिनीयर पदम थापाले भने ।
मुआब्जा वितरणलगायतका काम धमाधम भए पनि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नबन्दा निर्माणको काम केही समय धकेलिने उनको भनाइ छ ।