
म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले लियोनेल मेस्सीसँग हालै मात्र कुरा गरेको र उनका क्लबमा भित्र्याउनका लागि आतुर रहेको गोल डट्कमले खबर दिएको छ ।
६ पटकका बालून दोर विजेता मेस्सीले क्लब छोड्नका लागि मंगलवार निवेदन दिएका छन् । सम्झौतामा निःशुल्क निस्कनका लागि अनुमति दिने प्रावधानलाई टेकेर क्लबबाट निस्कन पाऊँ भनी उनले आग्रह समेत गरेका छन् ।
तर बार्सिलोनाले उनको सम्झौतामा ७० करोड युरोको रिलीज क्लज रहेको र सन् २०२१ सम्म सम्झौता कायम रहने अडान लिएको छ । यस विषयले मेस्सी र क्लबबीच कानूनी लडाइँ हुन सक्ने सम्भावना बढाएको छ ।
ग्वार्डिओलाले प्रशिक्षण करीयरको आरम्भ बार्सिलोनाबाट गरेका हुन् र मेस्सीसँग उनको जोडीले अनेकौं सफलता हासिल गरेको छ ।
३३ वर्षीय मेस्सीसँग पुनर्मिलन हुने भएकाले उनलाई सिटीमा भित्र्याउनका लागि ग्वार्डिओला आतुर छन् अनि सिटीसँग मेस्सीलाई महंगो तलब दिन सक्ने आर्थिक क्षमता पनि छ ।
सन् २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षक रहँदा ग्वार्डिओलाले क्लबलाई भयंकर सफलता दिलाएका थिए । पहिलो सीजनमै उनले तीनवटा उपाधि जिताएका थिए भने सन् २००९ मा ६ वटा प्रमुख उपाधि हात पारेका थिए । त्यसपछि क्लब छोड्दासम्म उनले थप ६ वटा उपाधि दिलाएका थिए ।
ग्वार्डिओलाको प्रशिक्षणमा रहेको बार्सिलोनाको खेलाडी पुस्ता फूटबलकै महानतममध्ये एक मानिन्छ । त्यसमा मेस्सीले आक्रमणको नेतृत्व लिएका थिए । सन् २०११–१२ को सीजनमा मेस्सी एक्लैले ७३ गोल गरेका थिए । क्लबमा ग्वार्डिओलाको त्यो अन्तिम सीजन थियो ।
सँगै रहँदा सफलताका अनेकौं कथा लेखेकाले मेस्सी ग्वार्डिओलासँग पुनर्मिनलनका लागि इच्छुक छन् । यस सीजनमा उनले जम्मा ३१ गोल गरेका छन् जुन उनको स्तर हेर्दा निकै कम हो । सन् २००७–०८ को सीजनपछि यति कम गोल गरेको अहिलेको पालि नै हो ।
अनि अर्जेन्टिनाका सहखेलाडी सर्जिओ अग्वेरोसँग खेल्ने सम्भावना र प्रेमियर लीग जस्तो उच्चस्तरीय लीगमा खेल्ने अवसरले पनि मेस्सीलाई आकर्षित गरेको बताइन्छ ।
तर सिटीले मेस्सीलाई दह्रो अफर दिएको छैन र उनीसँगको सम्झौता पनि जटिल हुनेछ ।
म्यानचेस्टर युनाइटेड, इन्टरमिलान र पेरिस सेन्ट–जर्मान लगायतका क्लबले पनि मेस्सीमा रुचि देखाएको बताइन्छ ।