२२ जेठ २०८३, शुक्रबार

न्युजील्यान्डमा ५१ मुसलमानको हत्या गर्ने आतंकवादीलाई आजीवन कारावास

भदौ ११, २०७७
न्युजील्यान्डमा ५१ मुसलमानको हत्या गर्ने आतंकवादीलाई आजीवन कारावास

सन् २०१९ को मार्च महिनामा मस्जिदहरूमा प्रार्थनाका लागि भेला भएका ५१ जना मुसलमानहरूको हत्या गर्ने आतंकवादीलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । उनलाई परोलमा निस्कने सुविधा समेत दिइएको छैन । 
 

न्युजील्यान्डको इतिहासमा यति कडा सजाय पाउने उनी पहिलो व्यक्ति हुन् । 
 

ब्रेन्टन टारान्ट नामक २९ वर्षीय आतंकवादीलाई बिहीवार सजाय दिइएको हो । क्राइस्टचर्चका दुईवटा मस्जिदमा उनले पुरुष, महिला र बालबालिका गरी ५१ जनाको हत्या गरेका थिए । हत्या गरिएको सबभन्दा सानो बालक जम्मा तीन वर्षका थिए । 
 

टारान्ट अस्ट्रेलियाका नागरिक हुन् र उनीमाथि आतंकवादको मुद्दा चलाइएको थियो । न्युजील्यान्डमा पहिलोपटक कुनै व्यक्तिमाथि त्यस्तो मुद्दा लगाइएको हो ।

फैसलाको सुनुवाइमा टारान्ट आफैं उपस्थित थिए तर उनले अदालतमा बोलेनन् । आफ्ना वकिल पिप हललाई उनले बोल्न लगाए । 

न्यायाधीश क्यामरन मान्डरले उनलाई केही बोल्नु छ भनी सोधे । उनले सुस्तरी ‘छैन, धन्यवाद’ भने ।

घटनामा मारिएका र घाइते भएका सबै पीडितको नाम न्यायाधीश मान्डरले पढेर सुनाए । ‘तिमीले कुनै दयामाया देखाएनौ । यो दानवीय कार्य थियो, तिमीले अमानवीय काम गर्‍यौ,’ मान्डरले टारान्टलाई भने । 
 

क्राइस्टचर्च उच्च अदालतमा चार दिनसम्म लगातार चलेको सुनुवाइपछि बिहीवार फैसला सुनाइएको हो । सुनुवाइका क्रममा पीडितका परिवार तथा घटनामा बाँचेका ९१ जनाले मुसलमान समुदायमा टारान्टले दिएको पीडाको बयान गरे । 

उनीहरूले बोलिरहँदा टारान्ट चुपचाप सुनिरहे । उनीहरूले आक्रोश, घृणा, क्षमा र उदासी व्यक्ति गरिरहँदा उनले कुनै भाव देखाएनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्