
मध्यान्हको १२ बजे । टन्टलापुर घाम लागेको छ ।
काठमाडौंको इन्द्रचोक सुनसान छ ।
मानिसहरूको आवतजावत शून्यप्रायः छ ।
बेला–बेलमा प्रहरीको गाडी साइरन बजाएर आउँछ ।
एक दुईजना मानिसहरू आवतजावत गर्छन् ।

इन्द्रचोकको पाटीमा ३ जना सुतिरहेका छन् । एक जना वृद्धजस्ता देखिने व्यक्ति भने हातमा नाम्लो लिएर मन्दिरको तल बसिरहेका छन् ।
कहिले सडक छेउमा आएर यताउता गर्छन् त कहिले अर्को छेउमा गएर अर्को तर्फको सडक हेर्छन् ।
जता हेरे पनि सुनसान नै छ ।
शरीरमा फाटेको जिन्सको हाल्फ पाइन्ट, कालो क्याप, कपडाको कालो मास्क, गर्मी महिनामा पनि ज्याकेट, खुट्टामा चप्पल र हातमा नाम्लो छ ।
खुट्टाभरी घाउ नै घाउ अनि अनुहारमा काम नपाएको चिन्ता ।

काठमाडौंको इन्द्रचोकमा भारी बोक्दै आएका रसुवा घत्ल्याङ गाउँका ६० वर्षीय लाक्पादोर्जे तामाङको हुलिया हो ।
विगत ३० वर्षदेखि इन्द्रचोकमा भारी बोकेर आफ्नो जीविका चलाउँदै आएका लाक्पादोर्जेको आजभोलिको दैनिकी हात भएको एउटा नाम्लो बोकेर इन्द्र चोकको वरपर घुम्नु हो, त्यसमा पनि बेला–बेलामा नगरपालिकाका प्रहरी आएर लखेट्छन् ।
नेपाल प्रहरीले भने आफ्नो समस्या बुझ्ने गरेको उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गरेको ४ महिने बन्दाबन्दी (लकडाउन) र पछिल्लोपटक काठमाडौंमा भएको निषेधाज्ञाले लाक्पा दोर्जेलाई खान समेत मुस्किल परेको छ ।
४ महिना लामो लकडाउनमा बल्लबल्ल ज्यान धानेको उनी बताउँछन् । न्यूरोड र असनमा फ्रीमा बाँडेको खाना खाएर उनले गुजारा गरे । अहिले त त्यो पनि छैन ।
विगत २० वर्षदेखि खाना खाँदै आएको इन्द्रचोकको भित्री गल्लीको होटलमा पनि उनी आजकल खान गएका छैनन् । ४ छाक खानाको पैसा तिर्न बाँकी रहेकाले त्यो नतिरी उनलाई जान मन लागेको छैन ।

‘पहिला–पहिला १ महिनासम्म पनि बाँकी खाँदा केही जस्तो लाग्दैनथ्यो अहिले त सबैतिर बन्द छ कसरी बाँकी खानु उनीहरूले पनि किनेरै ल्याउने हुन्,’ लाक्पादोर्जेले लोकान्तरसँग भने, ‘न आइदिएहुन्थ्यो जस्तो गर्छन्, कसरी जानु ।’
बिहान एउटा चाउचाउमा पानी हालेर खाने र बेलुका चिउरामा पानी हालेर खाएर दिन गुजारिरहेको उनले बताए ।
निषेधाज्ञाले गर्दा भारी बोक्न नपाएपछि आफुसँग भएको ३ सय रुपैयाँले उनले एक साता गुजारे । निषेधाज्ञाअघि १३ सय कमाएका रहेछन्, १ हजार रुपैयाँ त सुतेको समयमा अर्कैले चोरेर लगिदिएछ ।
लगत्तै निषेधाज्ञा भएपछि समस्या भएको उनले बताए । घर जान गाडी नचलेकाले बाँच्न मात्रै पाए पनि हुन्थ्यो भन्ने लागेको उनले सुनाए ।
‘खुल्ने बेलासम्म बाँच्न पाए घर तिर जान्थेँ, गाउँमा मागेर भएपनि बाँच्न त सकिन्थ्यो,’ लाक्पा दोर्जेले आफ्नो दुखेसो पोखे ।
काठमाडौंमा उनको बस्ने र सुत्ने ठाउँ छैन । इन्द्र चोकको पाटीमा सुत्दै आएका छन् । ‘भारी बोक्नेलाई कसले कोठा देओस्’ उनले भने ।
उनीसँगै भारी बोक्ने अन्य साथीहरू इन्द्रचोकको पाटी मस्त सुतिरहेका थिए । उनी भने दिन कटाउन यताउता गरिरहेका थिए ।

साथी भाइहरू १० रुपैयाँ भयो भने रक्सी खाएर सुत्ने गरेका छन्, तर उनले भने रक्सी छाडेको १० वर्ष भयो ।
१० वर्ष अगाडि पेट चिरेर अपरेसन गरेपछि रक्सी छाडेको उनले सुनाए । पेटको घाउ पनि देखाए ।
त्यो बेलामा जम्मा गरेको ५ हजार र अरूले सहयोग गरेको ३० हजार रुपैयाँले उनले अपरेसन गरेका रहेछन् ।

२ सन्तान जन्मिएपछि लाक्पा दोर्जेलाई श्रीमतीले छोडेर गइन् । श्रीमतीले छाडेर गएको पनि १५/२० वर्ष बितिसकेछ । कमाएर श्रीमतीलाई राम्रोसँग पाल्न नसकेकाले पोइल गएको उनको बुझाइ छ ।
‘उबेलामा कमाइ हुँदैनथ्यो, भारी बोकेर महिनामा १५/१६ सय मात्र हुन्थ्यो, त्यसले छोराछोरीलाई पढाउन र खान धेरै मुस्किल हुन्थ्यो, त्यही भएका पोइल गएकी हो,’ उनले विगत सम्झिँदै लोकान्तरसँग भने ।
श्रीमतीले छाडेर गएपछि उनले छोराछोरीलाई ७/८ कक्षसम्म पढाए, त्यसपछि छोराछोरीले पनि छाडेर गएको उनको गुनासो छ ।

‘एउटा छोरा चीनको ल्हासामा कपडा पसल गर्छ भन्ने सुनेको छु, तर अहिलेसम्म खोज्न आएको छैन,’ उनले भने ।
छोरीलाई भने उनले बेला–बेला भेट्छन्, तर छोरीले पनि आफूसँग राखेकी छैनन् ।
लकडाउनपछि फोनमा कुराकानी हुने गरेको थियो तर त्यो फोन पनि चोरले चोरेर लगेपछि सम्पर्क भएको छैन ।

‘छोरा व्यापारी भयो रे, ल्हासामा छ रे, नातिनातिना छन् रे, तर मैले देख्न पाएको छैन,’ उनी भन्छन्, ‘गाउँबाट आउने मानिसहरूले भेटेको बेलामा सुनाएकाले मात्र थाहा पाएको हुँ ।’
अब उनले बन्द खुलेपछि गाउँ फर्किने योजना बनाएका छन् । तर, कहिले खुल्ने हो पत्तो छैन ।