०१ साउन २०८३, शुक्रबार

विपद्पछिको पुनर्निर्माणमा नयाँ आयाम थप, ५८ अनुसन्धानपत्र

विपद्पछिको पुनर्निर्माणमा नयाँ आयाम थप,  ५८ अनुसन्धानपत्र

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइ आदान-प्रदान गर्न आयोजना गरेको चार दिने राष्ट्रिय परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

भर्चुवल माध्यमबाट गरिएको परिसंवादमा निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत र सुशासनका विभिन्न पक्षमा नेपाली र विदेशी अनुसन्धानकर्ताका ५८ वटा अनुसन्धानपत्र प्रस्तुत भएका थिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परिसंवाद कार्यक्रममा प्रस्तुत गरिएका अनुसन्धानबाट प्राप्त नयाँ तथ्य र ज्ञानले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा विश्वमा नै नयाँ आयाम थप्न सहयोग पुग्ने बताए।

उनले अनुसन्धानहरुले समुदायको सकृय सहभागितामा निजी आवास पुनर्निर्माणलाई प्रभावकारी रुपमा अघि बढेको, रेट्रोफिटिङ प्रविधिबाट पुराना संरचनाहरुलाई सुरक्षित बनाउन सकिएको, ऐतिहासिक महत्वका सम्पदाहरुको पुनर्निर्माणमा पुर्खाहरुले गरेको कामलाई मौलिक रुपमा पुनर्जागरण गरी ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिने देखाएको जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले इन्जिनियरिङ समुदायमा सिमेन्ट र स्टील स्ट्रक्चर प्रविधिको छलफल हुने गरेकोमा अनुसन्धानहरुले काठ, ढुङ्गा, चुना र सुर्की प्रयोग गर्ने प्रविधिबाट महत्वपूर्ण संरचना बनाउन सकिने देखाएको, नयाँ भवन संहिता तयार पारी सबै खालका भवनको संरचना निर्माणमा नयाँ थालनी भएको, समुदायमा सुरक्षित भवन बनाउनु पर्छ भन्ने मान्यता स्थापित भएको पनि अनुसन्धानहरुबाट पाइएको जानकारी दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले परिसंवादमा प्रस्तुत अनुसन्धानपत्रले नेपालको पुनर्निर्माण र पुनर्स्थापनाका विविध पक्षलाई लिपीबद्ध गरी भावी पुस्तालाई जगेर्ना गर्न सहयोग पुर्याउने बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य तथा परिसंवाद कार्यक्रमका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले परिसंवादका निष्कर्षहरु प्राधिकरणलाई नीतिगत र कार्यक्रमगत रुपमा सुधार गर्नका लागि मार्गदर्शन एवं भावी पुस्ताका लागि ज्ञान र अनुभवको भण्डार हुन हुन सक्ने बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वतयारी स्वरुप राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना गरेको हो ।

प्राधिकरणका सहप्रवक्ता तथा परिसंवाद कार्यक्रम सचिवालयका सदस्य-सचिव मनोहर घिमिरेले राष्ट्रिय परिसंवाद कार्यक्रममा प्रस्तुत अनुसन्धानपत्रहरुमा प्राप्त सुझावहरुलाई समावेश गरी अन्तिम रुप दिइने र ती अनुसन्धानपत्रहरु अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने जानकारी दिए। 

परिसंवादमा प्रस्तुत भएका अनुसन्धानपत्रहरुमध्ये छानिएका २० वटा अनुसन्धानपत्रहरु जापानस्थित अन्तर्राष्ट्रिय एलसेभियर जर्नलमा प्रकाशनार्थ पठाइनेछ। प्राधिकरणले यसबारे उक्त जर्नलसँग समझदारी गरिसकेको छ। प्राधिकरणले केही अनुसन्धानपत्र आफ्नो प्रकाशनका रुपमा समेत प्रकाशित गर्नेछ।

प्राधिकरणले सम्मेलनमा पेश भएका अनुसन्धानपत्र, पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी दस्तावेज तथा संस्थागत उपलब्धी लगायतका पक्षहरुलाई समावेश गरी अभिलेखीकरण गर्दैछ।

अनुसन्धानपत्रहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुले टिप्पणीसहित सुझाव दिएका थिए। भदौ ८ गतेदेखि भर्चुवल माध्यमबाट गरिएको सम्मेलनका सबै सत्रमा गरी करिब २२ सय सहभागी थिए। 

salt training

कमेन्ट गर्नुहोस्