
सरकारले स्वदेश फर्कन चाहने नेपाली श्रमिकका लागि अन्तर्राष्ट्रिय उडानको संख्या कम राखेको भन्दै राजदूतहरूले असन्तुष्टि व्यक्त गरेका छन् । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकमा रहेका राजदूतहरूले कोरोनाका कारण ठूलो संख्यामा नेपाली श्रमिक विदेशी भूमिमा अलपत्र परेको तर उनीहरूको उद्धारका लागि सरकार उदासीन भएको बताएका हुन् ।
प्रतिनिधिसभाको महिला, बालबालिका तथा सामाजिक समितिको बिहीबार बसेको भर्चुअल बैठकमा राजदूतहरूले अन्तर्राष्ट्रिय उडान कम हुँदा आफैं पैसा तिरेर पनि श्रमिकहरू फर्किन नपाउने अवस्था आएको बताए । सरकारले भदौ १६ गतेदेखि सीमित रूपमा अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । नेपाली श्रमिक रहेका मुलुकबाट दैनिक लगभग ५ सय जनालाई ल्याउने गरी उडान सुरु हुन लागेको हो । तर, त्यसरी उडान गर्ने हो भने लाखौं नेपाली श्रमिक समस्यामा परेर सडकमा बास बस्ने अवस्थामा आउने राजदूतहरूको भनाइ छ ।
स्वदेश फर्किन लाखौं नेपालीले फाराम भरेको जनाउँदै उनीहरूले अन्तर्राष्ट्रिय उडान निर्धारण गर्दा सम्बन्धित मुलुकमा रहेका राजदूतसँग त्यहाँको अवस्था नबुझिएकोमा आक्रोश व्यक्त गरे । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ९ हजारभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताए । ‘मलेसियाको घरफिर्ता हुन लागेकालाई राख्ने क्याम्पमा १ सय १ जना नेपाली पालो कुरेर बसेका छन् । उनीहरूलाई जति छिटो फ्लाइट हुन्छ त्यति सहज हुन्छ,’ उनले भने, ‘एक महिनामा जम्मा १३ उडान हुन्छ भनेको छ । जबकि महिनाको १ सय ३० फ्लाइट हुन्थ्यो ।’ उडान संख्या न्यून गर्दा विमान कम्पनीले टिकटको भाडा बढाउने भएकाले श्रमिकलाई मार पर्ने उनको भनाइ थियो ।
कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले कोरोनाका कारण काम रोकिएकाले २० हजारभन्दा बढी नेपालीले स्वदेश फर्कन फाराम भरेको जानकारी दिए । ‘१० हजार सूचीबद्ध भएर घर जान तयार छन् । ५ हजारलाई तत्कालै उद्धार नगरी नहुने अवस्था छ,’ उनले भने, ‘कम्पनी खोलेकाहरू भागिदिएकाले नेपाली कामदार सडकमा पुग्नुपर्ने अवस्था आएको छ । उनीहरूको उद्धार गर्नुको अर्को विकल्प नै छैन ।’ केही रोजगारदाता कम्पनीले आफ्नै खर्चमा नेपाली श्रमिकलाई काठमाडौं पुर्याइदिने भनिरहेको तर अन्तर्राष्ट्रिय उडान नहुँदा समस्या भएको भारद्वाजले बताए । ‘पैसा तिरेर जान्छौं, हामीलाई लगिदिनुस् भनेर रोइकराइ गरिरहेका छन् । तिनीहरूलाई लान सक्ने अवस्था छैन,’ उनले भने । ३५ हजार नेपाली कामदार रहेको बहराइनबाट १ सय ७० नेपाली श्रमिकले तत्काल नेपाल फर्किन नाम दर्ता गराएको नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए ।
कुवेतबाट ७ हजार ६ सय नेपाली श्रमिकले नेपाल फर्किन चाहेकोमा ३४ सय फर्किसकेको र बाँकी उडानको पर्खाइमा रहेको राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । उनले पनि रोजगारदाताले नियमित उडान गरिदिन माग गरिरहेको जनाए । साउदी अरब र यूएईबाट पनि हजारौं नेपाली श्रमिक फर्किन चाहिरहेको तर उडान संख्या कम हुँदा अलपत्र पर्ने सम्भावना रहेको त्यहाँस्थित कूटनीतिज्ञले बताए । कोरोनाको प्रभाव बढ्दै जाँदा रोजगारी गुमाई स्वदेश फर्कन चाहेको संख्या थपिइरहेको उनीहरूको भनाइ छ ।
बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा गएर मुलुकको अर्थतन्त्र धानिरहेका श्रमिक समस्यामा पर्दा उद्धार गर्नुपर्ने बताए । सांसद नारायणप्रसाद खतिवडाले तत्काल उद्धार गर्नैपर्नेलाई ल्याइहाल्न सरकारसँग माग गरे । ‘अहिलेको दरले उडान गर्ने हो भने नेपाली श्रमिकलाई उद्धार गर्न २ वर्ष लाग्छ । यसरी हुँदैन,’ सांसद सूर्यबहादुर केसीले भने । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुंगानाले अन्तर्राष्ट्रिय उडान संख्या बढाउन प्रयत्न गर्ने बताए । क्वारेन्टाइन र आइसोलेसन संख्या तयार नभएको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उडान संख्या कटौती गरिदिएको उनको भनाइ थियो ।
पर्यटन मन्त्रालयका सचिव केदार अधिकारीले पनि सीसीएमसीले मन्त्रालयले अनुमति मागेको उडान संख्यालाई घटाइदिएको बताए । ‘कति फ्लाइट चाहिन्छ त्यसबारे औपचारिक वा अनौपचारिक जानकारी दिनुहोला । सोहीअनुसार मन्त्रिपरिषद्बाट निर्णय गराउन सकिन्छ,’ उनले भने । समिति सभापति निरुदेवी पालले श्रमिकलाई ल्याउन उडान गएको तर रित्तै फिर्ता आएको प्रति चासो राख्दा सचिव अधिकारीले विमान फिर्ता बोलाइएकोबारे तत्काल जानकारी नभएको बताए । कान्तिपुर दैनिकमा जयसिंह महराले खबर लेखेका छन् ।