२७ असार २०८३, शनिबार

सुत्केरी मृत्यु प्रकरण: झुक्यो ठाँटीकाँध गाउँपालिका, १५ दिनमा विशेषज्ञ डाक्टर ल्याउने सहमति

सुत्केरी मृत्यु प्रकरण: झुक्यो ठाँटीकाँध गाउँपालिका, १५ दिनमा विशेषज्ञ डाक्टर ल्याउने सहमति

दैलेखको ठाँटीकाँध गाउँपालिका-१ सिराडीकी २३ वर्षीया सुत्केरी पार्वती शाहीलाई प्रदेश अस्पताल कालागाउँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विषयमा गाउँपालिकाले पीडित परिवारका सबै माग पूरा गर्ने सहमति गरेकाे छ।

शनिबार साँझ पीडित पक्ष, महिलाको माइती पक्ष र गाउँपालिकाबीच चार बुँदे सहमति भएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए। उनका अनुसार अबको १५ दिनमा लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर ल्याउने, नवजात शिशुको उच्च शिक्षा अध्ययन, स्वास्थ्य उपचारको जिम्मा गाउँपालिकाले लिने सहमति भएकाे हाे।

यस्तै, पीडित परिवारको माग बमोजिम केन्द्रले उपचारमा लापरवाही गरेको हो होइन भन्ने पत्ता लगाउन छानविन टोली गठन गर्ने, अबदेखि नियमित रुपमा गाउँपालिकामा एम्बुलेन्सको व्यवस्था गर्नुका साथै मृतक शाहीको उपचारमा लागेको सबै खर्च पालिकाले व्यहोर्ने र २५ हजार क्रिया खर्च पालिकाले दिने सहमति भएको प्रजिअ सुनारले लोकान्तरलाई बताए। उनले नागरिकले जायज माग राखेको हुँदा यसलाई कार्यान्वयनका लागि सकेसम्म आफूले पनि प्रयास गर्ने बताए।
मृतक शाहीको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रको लापरवाहीका कारण ज्यान गएको आफन्तले आरोप लगाउँदै गाउँपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका थिए।

स्थानीय २३ वर्षीया शाहीलाई भदौ ११ गते बिहान सुत्केरी व्यथा लागेको थियो। बिहान ११ बजे उनलाई लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको र दिउँसो तीन बजे पार्वतीले छोरी जन्माएकी थिइन्।

उनले शुक्रबार दिउँसो तीन बजे छोरी जन्माइन् भने त्यसपछि उनलाई रक्तश्राव भएको थियाे। र, अस्पतालले समयमै रेफर नगरेको र उपचारका लागि पालिकाले हेलिकप्टर वा अन्य साधनको व्यवस्था नगरिदिएका कारण पार्वतीको ज्यान गएको बताउँदै स्थानीय आन्दोलनमा उत्रिएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्