१५ असार २०८३, सोमबार

मृतकमध्ये ८० प्रतिशत ४० वर्षमाथिका

भदौ १४, २०७७
मृतकमध्ये ८० प्रतिशत ४० वर्षमाथिका

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । मृतकमध्ये ८० प्रतिशतभन्दा बढी ४० वर्षमाथिका छन् । कुल संक्रमितमा ०.५५ प्रतिशत मृत्युदर देखिएको छ । यसअघि भदौ १ गते संक्रमितमध्ये मृत्युको प्रतिशत ०.३९ थियो । समुदायमा संक्रमण बढ्न थालेपछि मृत्युदर बढेको विज्ञहरूले बताएका छन् ।

‘अब हामी कोरोनाको जटिल स्थितितर्फ जाँदै छौं,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘अवस्था झन् खराब हुन सक्ने संकेत देखिएको छ ।’ उनका अनुसार हालसम्म ८०.१९ प्रतिशत अर्थात् १ सय ६६ जना ४० वर्षमाथिकाको मृत्यु भएको छ । ४० वर्षमुनि उमेर समूहका ४१ जनाको मृत्यु भएको छ । ‘यस आधारमा ४० वर्षमाथिका मृत्यु भएकाहरूमा बढी जटिल स्वास्थ्य समस्या देखियो,’ उनले भने, ‘यो उमेर समूहमा मृत्युदर सबैभन्दा बढी देखिएको छ ।’ २० वर्षसम्मको उमेर समूहमा ९ जना र २१ देखि ४० वर्ष उमेर समूहका ३२ जनाको मृत्यु भएको उनले बताए ।

सबैभन्दा बढी प्रदेश २ मा ८१ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश १ मा २४, वाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा १२, प्रदेश ५ मा २८, सुदूरपश्चिम प्रदेशमा १० र सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ । पछिल्लो केही सातादेखि कोरोनाको संक्रमण र मृत्यु हुने प्रतिशत महिलामा समेत बढ्दो देखिएको छ । हालसम्म कोरोनाबाट ५४ जना अर्थात् २६ प्रतिशत महिलाको मृत्यु भएको छ । मृतकको संख्या दुई अंकमा पुग्ने जिल्ला ५ वटा पुगेका छन् । पर्सामा ३५, काठमाडौंमा २०, मोरङमा १७, धनुषामा १३ र बारामा ११ जनाको मृत्यु भएको छ ।

सघन उपचारमा १९७ जना
संक्रमितमध्ये हाल १ सय ९७ जनाको सघन उपचार भइरहेको छ । जसअन्तर्गत १ सय ७५ जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा ७८ जना आईसीयू र १७ जना भेन्टिलेटरमा छन् । यस्तै, प्रदेश १ मा १५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा, प्रदेश ५ मा १७ जना आईसीयू र २ जना भेन्टिलेटर छन् । प्रदेश २ मा ३८ जना, गण्डकी प्रदेशमा ३ जना र कर्णालीमा २४ जना आईसीयूमा छन् ।

उपत्यकामा आइसोलेसन बेड थपिँदै
उपत्यकाका अस्पताल र आइसोलसन सेन्टरमा बेड थप्ने तयारी थालिएको छ । यहाँका आइसोलेसन सेन्टरमा अहिले एक हजार ५ सय हाराहारीमा बेड छन् । सबै संक्रमित बिरामीले भरिभराउ छन् । ती सेन्टरमा ६ हजार बेड थपिने र केही थपिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘लक्षणसहितका संक्रमित बढिरहेका छन्, बेड नहुँदा बिरामी घरमै बस्न बाध्य छन्,’ उनले भने, ‘बेड थपिएसँगै यस्ता समस्या समाधान हुँदै जानेछन् ।’ लक्षण नभएका संक्रमित र होम आइसोलेसनमा बस्ने अवस्था नभएका व्यक्ति यस्ता सेन्टरमा बस्न सक्ने उनले बताए । खानेबस्ने सुविधा सरकारले नै गर्ने यस्ता सेन्टरमा संक्रमितहरू नियमित स्वास्थ्यकर्मीको निगरानीमा हुनेछन् ।

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन आइसोलेसन सेन्टरमा परिणत भइसकेको छ । तीन सय बेड थपिने भनिएको यहाँ दुई सय ५० बेड राखिसकिएका छन् । कीर्तिपुरको आयुर्वेद तालिम केन्द्र र दहचोकको मनमोहन अस्पतालमा २ सय बेड छन् । त्यहाँ पनि तीन सयसम्म बेड थपिनेछन् । जोरपाटीको नेपाल मेडिकल कलेजले सेवा दिइरहेको ठाउँ छोडेर केही तलालाई आइसोलेसनमा परिणत गरेको छ, जहाँ एक सय बेड छन् । दुवाकोटको काठमाडौं मेडिकल कलेजमा दुई सय बेड छन्, यहाँ पनि बेड थपिनेछन् । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा एक सय, बालाजुस्थित जनमैत्री अस्पतालमा तीन सय, बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजमा एक सय र तीनकुनेस्थित कान्तिपुर अस्पतालमा ५० बेड थप्ने तयारी भइरहेको छ ।

‘खाली राखिएका सार्वजनिक भवन, होटललाई यस्तो सेन्टरमा परिणत गर्ने छलफल भइरहेको छ,’ उनले भने, ‘कुनै ठाउँ नपाए सभागृहको भवन लिएर पनि आइसोलेसन सेन्टर बनाउन सकिन्छ, हामीले आग्रह गरेका छौं ।’ अहिले सरकारले कोरोनाको लक्षण देखिएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, नेपाली सेनाको अस्पताल र त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ । आवश्यकताअनुसार निजी अस्पतालमा पनि भर्ना गरेर उपचार गरिने सरकारले नीति लिएको छ । ललितपुरमा पनि आइसोलेसन सेन्टर बन्दै छन् । सातदोबाटोको एन्फा भवनमा ५४ बेडको आइसोलेसन बेड छ । ज्यापू समाज भवनमा २८ बेडको आइसोलेसन सेन्टर बनाइएको छ । यसलाई आवश्यकताअनुसार एक सय बेड बढाउन सकिने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । त्यस्तै, सुनाकोठीस्थित युथ फाउन्डेसनको भवनलाई पनि सेन्टर बनाइएको छ, जहाँ २४ बेड छन् । सार्वजनिक भवनलाई प्रयोग गरेर अझै आइसोलेसन बेड थपिने उनले जानकारी दिए ।

रगत अभाव हुन नदिन देशव्यापी अभियान
कोरोना महामारीका बेला रगत अभावले उपचारमा समस्या देखिएको भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाजले देशव्यापी रक्तदान अभियान सुरु गरेको छ । त्यसैक्रममा समाजकै आहवानमा शनिबार नेवाः देय् दबू महालक्ष्मी नगर कचाःद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा गरिएको रक्तदान कार्यक्रममा १०७ जनाले रगत दिएका छन् । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष एंव स्वंयसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६३ औं पटकको रक्तदान गरेका थिए । अध्यक्ष कर्माचार्यले कोरोना संक्रमणमा रगत अभाव हुन नदिन देशव्यापी रक्तदान अभियान चालिएको बताए । कोराना संक्रमणको जोखिम कम गर्न कार्यक्रममा सहभागी स्वयंसेवी रक्तदातालाई पञ्जा, सेनिटाईजर, साबुन, मास्क, टिसर्ट लगायत सामग्री वितरण गरिएको थियो ।

कोटेश्वर प्रभागका १७ ट्राफिकमा संक्रमण
महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १७ जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही दिनअघि त्यहाँ कार्यरत दुई प्रहरीमा ज्वरो र रुघाखोकी आएपछि पीसीआर परीक्षण गरिएको थियो । दुवै जनामा संक्रमण पुष्टि भएपछि बिहीबार ३३ जना ट्राफिकको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये १७ जनाको शनिबार पोजिटिभ रिपोर्ट आएको हो ।
संक्रमण देखिएका सबैलाई मनमोहन मेडिकल कलेजमा बनाइएको आइसोलेसनमा पठाइएको छ । संक्रमण देखिएसँगै प्रभागमा बाहिरबाट कसैलाई पनि प्रवेश दिइएको छैन । आवश्यक सावधानी अपनाएर सुरक्षाकर्मीले नियमित जिम्मेवारी निर्वाह गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए । कोटेश्वरमा कार्यरतसहित महाशाखाअन्तर्गत १ सय १० जनामा संक्रमण देखिएको छ । कान्तिपुर दैनिकमा अतुल मिश्र र फातिमा बानुले खबर लेखेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्