१२ असार २०८३, शुक्रबार

अन्तरजातीय विवाह गर्नेलाई बुवाको शव हेर्न दिइएन

भदौ १४, २०७७
अन्तरजातीय विवाह गर्नेलाई बुवाको शव हेर्न दिइएन

राजिन्द्र बुढाक्षेत्रीका बुवाको मृत्युपछि अरू दाजुभाइ, छरछिमेक भेला भए। उनीहरू सबै शवनजिकै गए। तर, राजिन्द्र पत्नी र छोराछोरीलाई लिएर आँगनछेउको डिलमा बसेर रोइरहे। भोलिपल्ट शव दाहसंस्कार गर्न घाटमा लैजाने बेला भयो। राजिन्द्रले सोचेका थिए, ‘घाटसम्म त जान देलान्।’ तर, समाज कति निर्दयी बन्यो भने उनलाई घाट पनि जान दिइएन।

सिदिङ्वा गाउँपालिका–३ का राजिन्द्रले बुवाको अन्तिम संस्कार गर्न पाएनन्। दलित महिलासँग विवाह गरेको भन्दै परिवारले बहिष्कार गरेपछि उनले छुट्टै बसेर बाबुको किरिया गरे। जातीय भेदभाव गरेको र बाबुको अन्तिम संस्कारमा सामेल हुन नदिएको भन्दै राजिन्द्रले दाजुसहित चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

राजिन्द्रले २०६० सालमा गाउँकै फूलमाया विश्वकर्मासँग विवाह गरेका हुन्। त्यसपछि परिवारले घरमा बस्न दिएनन्। उनी छुट्टै घर बनाएर बस्न थाले। बुवा कुलमान साउन १० गते अचानक बिरामी परे। राजिन्द्रले नै उपचार गर्न झापा लिएर गए। ७ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि अस्पतालले फर्काइदियो।

उनी साउन १७ मा बुवालाई लिएर घर फर्किए। १८ गते वैतरणी दान गरियो। दाजु प्रेमले वैतरणीमा सहभागी हुन दिएनन्। ‘बुवालाई रुँघेर सिकुवामा बसेको थिएँ, दाजुले हाम्रो घरको आँगन पनि टेक्न पाउँदैनस् भनेर बाहिर निकाल्नुभयो’, उनले भने, ‘सोही दिन दिउँसो बुवा बित्नुभयो। म र मेरी पत्नीलाई शव हेर्नै दिएनन्।’

उनका काका रामबहादुर बुढाक्षेत्रीले काजकिरिया गर्न नदिने भने। दाजु नाता पर्ने बुद्धिले पनि हप्काएको राजिन्द्रको गुनासो छ। दुव्र्यवहारको क्रम त्यत्तिमै रोकिएन। करिब ३ सयको संख्यामा भेला भएका मलामीका अगाडि नाताले दाजु पर्ने खड्ग बुढाथोकीले नानाभाती भने। यसरी दाजुभाइले जातीय भेदभावसहित गालीगलौज गर्दा अरू भने मुखामुख मात्रै गरिरहेको उनकी पत्नी फूलमायाले बताइन्। स्थानीय जनप्रतिनिधि र गाउँपालिकाका केही कर्मचारी रमिते बने। अन्तिम संस्कारमा सहभागी हुन दिऊँ भनेर कसैले नबोलेको उनले सुनाइन्।

त्यसपछि शव घाटतर्फ लगियो। राजिन्द्र भने आफू छुट्टिएर बसेको घरतर्फ गए। दलित समुदायकै पुरोहित बोलाए। १३ दिन लगाएर काजकिरिया सके। १७ वर्षदेखि समाजबाट एक्लिएका राजिन्द्र अहिले झनै अन्याय महसुस गरिरहेको बताउँछन्।

राजिन्द्र न्यायका लागि सदरमुकाम फुङलिङ आएका छन्। उनले प्रेम र रामबहादुर बुढाक्षेत्रीसहित खड्ग र बुद्धि बुढाथोकीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। ‘जातीय भेदभाव तथा छुवाछूत कसुरमा मुद्दा दर्ता भएको छ’, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले भने, ‘प्रतिवादीहरूको खोजी गरिरहेका छौं।’

संयुक्त दलित अधिकार मञ्च ताप्लेजुङले जाहेरी दर्ता गराउन सहयोग गरेको फूलमायाले बताइन्। मञ्चका अध्यक्ष छत्र विश्वकर्माले मुलुक छुवाछूतमुक्त भएको लामो समय भइसक्दा पनि यस्ता घटना हुनु दुःखद भएको बताए।

नेपालको संविधानको धारा २४ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, पेसा, समुदाय, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत गर्न नपाउने व्यवस्था छ। छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा छुवाछूत गर्नेलाई हदैसम्मको सजायको व्यवस्था छ। अन्नपूर्ण पोस्टमा सीताराम गुरागाईंले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्