०४ असार २०८३, बिहीबार
महामारीभित्रको महामारी

'भोकले मर्नुभन्दा रोगले मरौंला, बन्द खोल्देऊ सरकार !'

भदौ १४, २०७७
'भोकले मर्नुभन्दा रोगले मरौंला, बन्द खोल्देऊ सरकार !'

काठमाडौंको असन बजारमा अन्य समयमा भीडभाड र हुलमुल हुन्थ्यो । १ मिनेटअगाडि देखेको मान्छे एकै छिनमा हराउँथ्यो, अहिले भने त्यो सुनसान छ ।

गल्लीमा एक्लै हिँड्न लगभग गाह्रो छ, डर नै लाग्छ । असनबाट पश्चिमतर्फ जाने गल्लीमा शुक्रबार दिउँसो १ बजे पूर्णरूपमा सुनसान थियो । 

असन चोकमा टन्टलापुर घाम लागेको थियो, तर अलिक भित्र गल्लीमा भने सामान्य उज्यालो मात्र थियो । मानिसहरूको चहलपहल त १५/२० मिनेटमा एकदुई जना मात्र देखिन्थे । 

त्यही गल्लीको बीचमा एउटा सानो कुनामा एकजना वृद्ध महिला एउटा क्यारेटमा केही सामान राखी कचौरामा केही खाने कुरा खाइरहेकी थिइन् ।  

फुलेको कपालमा कालो कलर गरेको स्पष्टै देखिएको थियो । चिसो भुइँको प्रवाह नगरी ग्राहकको प्रतिक्षामा थिइन् । भने खाली समय व्यतीत गर्नका लागि कपासको धागो काट्दै थिइन् । 

क्यारेटमा चुरोटका प्रकार, मास्क, स्यानिटाइजर लगायतका सामानहरू थिए । निषेधाज्ञा उल्लंघन गरेको भन्दै समय–समयमा प्रहरी आएर लखेट्ने भएकाले उनले कुनामा लुकेर यस्तो व्यापार गर्नुपरेको हो ।
उनी गुल्मी गाउँपालिका–४ इस्मादोहलीकी रहिछन्, नाम उमा अधिकारी । 

कोरोनाभाइरस (कोभिड– १९) संक्रमणले गर्दा भएको बन्दाबन्दी (लकडाउन) र पछिल्लो समयमा काठमाडौंमा भएको निषेधाज्ञाले गर्दा उनको घरको चुलो बलेन । ‘मर्नुभन्दा बैलाउन निको’ भन्दै कुनामा भएपनि नाङ्ले पसल थापेको उनले बताइन् ।  

‘सर मर्नुभन्दा बौलाउनु निको, खान नपाएर मर्नुभन्दा १/२ सय रुपैयाँ भएपनि छोराछोरीलाई खुवाउन त हुन्छ,’ अधिकारीले भनिन्, ‘यसरी खान नपाएर मान्छे मर्नुभन्दा बन्द खोली दिए हुने नि, भोकले मर्दैन थियौं ।’

१० वर्षदेखि काठमाडौंको असनमा नाङ्लो पसल थाप्दै आएकी उमालाई कोरोना भाइरसले गर्दा निकै अप्ठ्यारो पर्‍यो ।

पहिला–पहिला अलिकति बचेको पैसाले ३ महिना त चलाइन्, तर अहिले उनीसँग खाने पनि पैसा नभएपछि पहिला नाङ्लो पसल चलाउन चिनेका साहु कहाँबाट सामान ल्याएर पसल थापेकी हुन् । 

बेचेर साहु तिरेपछि बचेको पैसाले आफ्नो र छोराछोरी पेट भर्ने गरेको उनले बताइन् । 

‘बाँकी ल्याएको सामानको साहु तिरेर बचेको पैसाले खाने हा, कति नै बच्छ र, व्यापार दिनमा २ सय रुपैयाँ हुँदैन,’ उमाले भनिन्, ‘चोकमा राख्दा अलिक व्यापार हुन्थ्यो । प्रहरी आएर लखेट्छ, के गर्नु व्यापार नगरे भरे पेट कसरी भर्ने ?’ उनले गुनासो गरिन् ।

१ छोरा र २ छोरी भएकी उमाले लकडाउनले नाङ्लो पसल चलाउन नपाएपछि अन्य काम नखोजेकी होइनन्, तर पैसा धेरै नहुने र शरीरले पनि साथ नदिए भएपछि गर्न सकिनन् । 

लकडाउनको समयमा अन्य काम नभएर घरको काम गर्न गइन्, तर दिउँसोभरी काम गरेको २ सय मात्रै पाएपछि एकै हप्तामा काम छाडिन् । 

त्यसपछि प्रहरीले भाटा हाने पनि हानोस्, मर्नुभन्दा भाटा खानै ठीक भनेर कुना काप्चामा लुकेर व्यापार गर्न थालेको उनले बताइन् । 

‘सर रोगभन्दा भोक ठूलो रहेछ, भोकले मर्नुभन्दा त बरु रोगले मरौंला भनेर यसरी सामानहरू बेच्न थालेकी हुँ,’ उनले लोकान्तरलाई सुनाइन् । 

उनी असनमै भत्किन लागेको एक घरमा सुत्छिन्, त्यसमा महिनाको १५ सय भाडा तिर्नुपर्छ । त्यो कोठा सुत्न मिल्ने मात्र छ । छोराछोरीलाई अर्को कोठा लिइदिएकी छन्, त्यसको भाडा भने मासिक ३ हजार पर्छ । आफूलाई केही भएपनि छोरीछोरीलाई केही नहोस् भन्ने उनको चाहना छ।

एउटी छोरी १० कक्षामा, छोरा १२ कक्षामा र अर्की छोरी मास्टर्स पढ्छन् । उनले नाङ्लोमा व्यापार गरेर मात्रै पढाउन नसकेपछि छोराछोरीलाई एबीसी नामक संस्थाको सहयोगमा पढाएकी हुन् । 

‘जेठी छोरीको सरकारी जागिर खाने इच्छा छ तर के गर्नु ४ पटक दिँदा पनि नाम निकालिन । मसँग ट्युसन पढाउने पैसा छैन, कसरी निकालोस्,’ उनले आफ्नो दुखेको पोखिन् ।

सरकारी जागिर खाएर आमालाई राम्रो कोठामा राख्ने छोरीको इच्छा रहेको उनले सुनाइन् । 

२०४५ सालमा बिहे गरेकी उमा अधिकारीका श्रीमान् भने प्रहरीका हवल्दार थिए । बिहे गरेको ८ वर्षसम्म सँगै बसेका उनले पछि अर्की श्रीमतीसँग बिहे गरेपछि उनले ३ जना छोराछोरी एक्लै पाल्दै आएकी रहिछन्  । 

श्रीमानको पेन्सन सौताले लिने रहिछन् । श्रीमानलाई उनले घरबाट नै निकालिदिएपछि उमाको शरणमा आएछन्, तर रक्सीको लत लागिसकेका उनी गत वैशाखमा बितेछन् ।

श्रीमानको काजकिरिया र अन्तिम संस्कार आफूहरूले नै गरेको उनले सुनाइन् ।

‘के गर्नु लकडाउनमा सौताले निकालेर म कहाँ आएका थिए, रक्सी धेरै खाने भएकाले बिते,’ उनले भनिन्, ‘अन्तिममा दाहसंस्कार पनि एक्लै गर्नुपर्‍यो ।’

लकडाउनको समयमा काठमाडौंमा कोही नभएकाले छोराछोरी र केही आफन्तको सहयोगमा पशुपतिमा दाहसंस्कार गरेकी रहिछन् । 

दाहसंस्कारमा लागेको ऋण पनि उनीमाथि नै थपिएको छ । 

यो महामारी कहिले सकिने हो पत्तो छैन, र उमालाई जिन्दगी कसरी धान्ने भन्ने चिन्ता छ ।

salt training

कमेन्ट गर्नुहोस्