
कालीकोटमा सुख्खा पहिरो, ५ घर पुरियो, ४ जनाको मृत्यु
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर १ मा रहेको नाग्म बजारमा आज बिहान सुख्खा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार बिहान डाँडाको ढिस्को फुटेर आएको सुख्खा पहिरोले ५ घर समेत पुरेको छ ।
घटनामा परी मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नं. ५ बस्ने ५ वर्षका निराजन शाही, सोही गाउँपालिका वडा नं. सातका ४० वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही र उनकै दुई महिनाका छोरा अक्कल शाही रहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।
जीवितै उद्धार हुनेहरूमा तिलगुफा ३ बस्ने एघार वर्षका अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिकाकी चंगा शाही रहेका छन् ।
सुख्खा पहिरोमा परेर पाँच घर पुरिँदा थप ८ जना सम्पर्कमा नआएको डिएसपी तिमिल्सिनाले बताए ।
उनीहरूलाई सकेसम्म जीवितै उद्धार गर्न नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका २६ जना तथा स्थानीयहरू लागिरहेको डीएसपी तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिए ।
पछिल्लो २४ घण्टामा देशैभर १२ सय २१ मा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ४ सय २९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ७ सय १७ पीसीआर परीक्षणमा १ हजार २ सय २१ जनामा संक्रमण देखिएको जनाएको छ ।
एक दिनमा पत्ता लागेको संक्रमितको यो संख्या हालसम्मकै उच्च हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा संक्रमण देखिएको बताएका हुन् ।
यससँगै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ पुगेको छ । तीमध्ये १० हजार ६ सय १२ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा छन् ।
डा. गौतमले पछिल्लो २४ घण्टामा २ सय ६७ संक्रमणमुक्त भएर डिस्चार्ज भएको बताए । यससँगै हालसम्म २० हजार ८ सय २२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
डा. गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय २९ संक्रमित भएको बताए । काठमाडौँ जिल्लामा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा संक्रमण फेला परेको हो ।
काठमाडौं उपत्यकामा २४ घण्टामा ४ सय २९ संक्रमित
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २९ संक्रमित फेला परेका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा ३ सय ७२ भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
शनिवार काठमाडौं उपत्यकामा १ सय ८६ संक्रमित थपिएका थिए । यसअघि शुक्रवार काठमाडौं उपत्यकामा ४ सय १५ संक्रमित फेला परेका थिए ।
संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लगाएका छन् ।
निषेधाज्ञापछि संक्रमितको संख्या घट्ने अधिकारीहरुको अपेक्षा छ ।
शुक्रवार एकैदिन ४ सय १४ फेला परेकोमा शनिवार सो संख्या कम भएको थियो ।
आइतवार फेरि बढेर अहिले सम्मकै धेरै एकै दिन ४ सय २९ संक्रमित फेला परेका छन् ।
पिसिआर परीक्षणको शुल्क घट्यो, अब ४ हजार ४ सयभन्दा बढी लिन नपाइने
सरकारले कोभिड १९ को पिसिआर परिक्षण बापत सेवा शुल्क घटाएको छ।
यसअघि पिसिआर शुल्क अधिकतम ५ हजार ५ सय रुपैयाँ तोकिएकोमा अब ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
यसैगरी, गुणस्तर मापन तथा नियमन महाशाखाले अनुगमन गर्ने छ। महाशाखाले शुल्क,पिसिआरको नतिजा र प्रयोगशाला परिक्षणको गुणस्तरको अनुगमन गर्नेछ।
ललितपुर महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेथू
ललितपुर महानगरपालिकाले पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित नगर प्रहरी प्रमुखमा नियुक्त गरिएको हो।
हाछेथू २०७५ मंसिरमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए।
सहसचिवद्वय रानामगर र ढकाललाई महावाणिज्यदूतमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले हङकङ र ल्हासाका लागि दुई जना सहसचिवलाई महावाणिज्यदूत नियुक्त गरेको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव उदयबहादुर रानामगरलाई हङकङ र मकाउ तथा अर्का सहसचिव नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।
झापाका प्रमुख जिल्ला अधिकारी रानामगर र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, महाशाखा प्रमुख ढकाललाई अघिल्लो मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो।
लामो दूरीको यातायात र शिक्षण संस्था भदौभर नखुल्ने
सरकारले लामो दूरीको यातायात भदौ महिनाभर बन्द गर्ने निर्णय गरेको छ।
यसअघि भदौ १ बाट खोल्ने भनिएको लामो तथा मध्य दूरीको सार्वजनिक यातायात सञ्चालनको निर्णय १५ गतेसम्मका लागि सारिएको थियो।
तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो महिनाभर लामो तथा छोटो दूरीका सवारी नखोल्ने निर्णय गरेको हो। यसैगरी, सरकारले शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।