
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण रहे/नरहेको पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएर अधिकतम ४
हजार ४ सय रुपैयाँ बनाएको छ । यसअघि मन्त्रालयले अधिकतम शुल्क ५ हजार ५ सय तोकेको थियो ।
मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमान्ड सेन्टरका पदाधिकारीसहित बसेको बैठकले पीसीआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् । ‘सबै शुल्क जोडेर मूल्य तोकिएको हो, त्योभन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन,’ उनले भने ।
यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरूमा पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो । अन्तर्राष्ट्रिय बजारमै पीसीआरका लागि प्रयोग हुने रिएजेन्ट, आरएनए एक्सट्र्याक्टर तथा भीटीएम लगायतको मूल्यमा भारी गिरावट आए पनि सरकारले पीसीआरको मूल्य घटाएको थिएन ।