
चीनका परराष्ट्रमन्त्री वाङ यीले जर्मनी भ्रमणका क्रममा एक चीन नीतिलाई चुनौती दिने जोकोहीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । चेक गणतन्त्रको सिनेटका अध्यक्षले ताइवान भ्रमण गरेपछि वाङको टिप्पणी आएको हो ।
ताइवान चिनियाँ भूमिकै अभिन्न अंग भएको बताउँदै वाङले ताइवानका विषयमा एक चीन नीतिलाई चुनौती दिने व्यक्ति १.४ अर्ब चिनियाँ जनताको शत्रु बन्ने र यो अन्तर्राष्ट्रिय विश्वास र आचरणको बर्खिलाप भएको टिप्पणी गरे ।
चेक गणतन्त्रको सिनेटका अध्यक्ष मिलोस भाइस्त्रसिलले ताइवानको भ्रमण गर्नु उत्तेजक क्रियाकलाप भएको बताउँदै वाङले चीनलाई चुनौती कसैले दिएमा चीन सरकार र चिनियाँ जनता चुप लागेर नबस्ने र भाइस्त्रसिलले यो अदूरदर्शी कदमको भारी मूल्य चुकाउनुपर्ने वाङले बताए ।
भाइस्त्रसिलले आइतवारदेखि ताइवानको भ्रमण शुरू गरेका छन् । यसलाई चीनले मात्र नभई चेक गणतन्त्रका राष्ट्रपतिको कार्यालयले पनि विरोध गरेको छ ।
उनले ९० जना राजनीतिक र व्यापारिक नेताको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ताइवानमा ६ दिने व्यापारिक मिसनमा गएको भनी रोयटर्स समाचार संस्थाले समाचार दिएको छ ।
चेक गणतन्त्रमा रहेको चिनियाँ दूतावासले भाइस्त्रसिलको भ्रमणको कठोर विरोध गरेको छ ।