
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड–१९ संक्रमित महिलाले शल्यक्रिया सेवाबाट बच्चा जन्माएकी छन् ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ की २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ ।
कृत्रिम गर्भाधान (आईयूआई) प्रविधिबाट गर्भवती ती महिलालाई सोमवार बिहान भैरहवाको भीम अस्पतालले बुटवल रिफर गरेको थियो । बच्चा र आमाको अवस्था स्वस्थ रहेको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले लोकान्तरलाई जानकारी दिए ।
यसअघि प्रादेशिक अस्पतालमा १ जना गर्भवतीको शल्यक्रिया हुन नसकेको भन्दै आलोचना भएको थियो । तर अब अस्पतालले संक्रमित गर्भवतीको शल्यक्रिया गर्नसक्ने उनले बताए ।
डा. गौतमले भने, ‘आज गर्भवती महिलामा पानी बग्ने समस्या आएपछि भीम अस्पतालले हामीकहाँ रिफर गर्यो । तुरून्त अपरेसन गरियो । अहिले आमा र बच्चाको अवस्था सामान्य छ ।’
अस्पतालले कोरोना संक्रमित गर्भवतीको शल्यक्रियाका लागि पीसीआर जाँच गर्ने पुराना भवनमा संरचना तयार गरेको छ ।