
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
काठमाडौं उपत्यकामा भने २ सय ९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ छन् ।
संक्रमितमध्ये २१ हजार ४ सय १० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ५ सय ८८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
मृतकको संख्या भने २ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आईसीयूमा १३२ जना र भेन्टिलेटरमा १६ जना उपचाररत रहेको प्रवक्ता गौतमले बताए ।