
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।
गोरखाको आरुघाट निवासी ६५ वर्षीया महिलाको भदौ १३ मा काठमाडौंस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको थियो। अस्पतालमा भदौ ४ देखि नै उपचाररत् उनको निधनकै दिन भदौ १३ मा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीले विज्ञप्तिमार्फत जनाएको । ती महिला हाइपोथाइरोडिजम तथा मिर्गाैलाबाट लामो समयदेखि ग्रसित थिइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो नियमित प्रेस ब्रिफिङमा समेत ती महिलाको कोरोना संक्रमणको कारण ज्यान गएको सार्वजनिक गरेको थियो।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो। यसअघि बिहीबार, शुक्रबार, शनिबार पनि पोखरामा लगातार कोरोना संक्रमितको ज्यान गएको थियो।
यसैबीच, गण्डकी प्रदेशमा सोमबार २८ जना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमित संख्या २ हजार १ सय ६५ पुगेको छ। प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या ४ सय ५९ मात्र रहेको छ।
गण्डकी प्रदेशमा संक्रमितमध्ये निको हुनेको संख्या १ हजार ६ सय ९३ अर्थात् ७८ दशमलव २ प्रतिशत छ।