
बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि भदौ अन्तिम साता नेपाल आउने भएको छ । लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने उनीहरूको तयारी छ ।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सेप्टेम्बर १५ (भदौ ३०) पछि हुने उनको चार्टर उडानलाई काठमाडौं आउन अनुमति दिएको छ । राजकुमार नासिरको टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती छन् । पर्यटन विभागका अनुसार टोलीका सदस्य बहरानको सैनिकसँग आबद्ध छन् । राजकुमार आफैं पनि बहराइन सैनिक (बहराइन गार्ड) का कमान्डर हुन् ।
यो आरोहणको जिम्मा नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । ‘सरकारले अनुमति दियो, अब पर्यटन विभागमा आरोहण अनुमतिका लागि कागजात बुझाउदै छौं,’ सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भने । उनका अनुसार उक्त टोलीले चैत–वैशाखको वसन्तकालीन सिजनमै हिमाल आरोहण गर्न चाहेको थियो । कोरोना महामारी र नेपालमा लकडाउनका कारण अभियान शरदकालीन याममा सरेको हो ।
राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ । त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम छ । शेर्पाका अनुसार लोबुचे आरोहणपछि हेलिकप्टरमा यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोझै फर्किनेछ ।
‘मौसमलगायत अरू कारण मनास्लु हिमाल आरोहणमा चुनौती सामान गर्नुपरे मनाङमै रहेको अर्को सुन्दर हिमाल हिमलुङ पनि आरोहण गर्न सकिनेछ,’ शेर्पाले भने । राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइनेछ । जसमा सर्वाधिक (२४ औं पटक) सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा, संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहनेछ । यो आरोहण अभियानमा करिब १ सय ५० जना शेर्पा प्रत्यक्ष संलग्न हुने सेभेन समिटले जनाएको छ । ‘यदि यो सिजनमा बहराइनका राजकुमारले हिमाल आरोहण गरेमा विश्वभर नेपालको प्रचारमा मद्दत पुग्नेछ,’ शेर्पाले भने ।
पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले यो अभियान नेपालका लागि चुनौतीपूर्ण रहने बताए । ‘अहिलेको परिस्थितिमा नेपालले यो अभियान सफल बनाउन सक्यो भने विश्वभर नेपालको प्रचार हुनेछ । त्यसैले यतिबेला हरेक तहबाट समन्वय गर्नुपर्ने हुन्छ,’ उनले भने । कान्तिपुर दैनिकमा सुरज कुँवरले खबर लेखेका छन् ।