
रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा २४ जना प्रहरीको पीसीआर जाँच गर्न पठाइएको १९ जनाको रिपोर्ट आउँदा ११ जनामा कोभिड–१९ देखिएको हो ।
बाँकीको रिपोर्ट आउन बाँकी छ । इप्रका बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले ११ जनामा संक्रमण देखिएको पुष्टि गरे ।
परीक्षणको रिपोर्टअनुसार संक्रमण देखिनेहरू प्रहरी जवानदेखि अधिकृतसम्मका रहेका बताइएको छ । १५० भन्दा बढी प्रहरी रहेको इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ । यसअघि भदौ १० गते १५ थुनुवा र ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।
थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमवार थप ११ जनामा कोरोना पुष्टि भएको छ ।