०३ असार २०८३, बुधबार

मौसममा फेरि बदली, राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा

मौसममा फेरि बदली, राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा
फाइल फोटो

दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो सोमबार र अस्ति आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ ।

मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए ।

मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ ।

श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको । आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ । 

वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा आज र भोलि भारी वर्षाको सम्भावना छ । पश्चिम सर्ने क्रममा भोलि कर्णाली र सुदूरपश्चिममा पनि असर गर्ने श्रेष्ठले बताए ।

'थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ,' मौसमविद् श्रेष्ठले भने । 

प्राप्त विवरणअनुसार आज प्रदेश १ को ताप्लेजुङ, धनकुटा, वाग्मती प्रदेशको रसुवा र काठमाडौँमा पानी परेको छ । गोरखाको बारपाक स्टेसनले सबैभन्दा बढी पानी परेको देखाएको छ ।

आज प्रदेश नं ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ ।

पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ । 

अहिले मनसुन सक्रिय नै छ । मुख्यतः सेप्टेम्बर २३ बाट मनसुन हराउँदै जान्छ । तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्तानबाट विस्तारै फर्किँदै जाने हुन्छ । त्यसपछि मात्रै नेपालबाट हट्छ ।

'पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ', मौसमविद् श्रेष्ठले भने, 'यसपाली पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ ।'

यसपाली नेपालमा औसत मनसुन रहे पनि मनसुन पूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले पहिरोका ठूलो घटना हुन पुग्यो । जसका कारण जनधनको ठूलो क्षति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्