
भारतले सोमवार उडिसा तटबाट ध्वनिको गतिभन्दा तीव्र हाइपरसोनिक स्क्य्रामजेट प्रविधिको परीक्षण गरेको छ । रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले यसको विकास गरेको हो ।
डीआरडीओले हाइपरसोनिक टेक्नोलोजी डेमोन्सट्रेसन भेहिकलको उपयोग गरेर एक क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसले वायुमण्डलमा माक–६ को गति हासिल गरेको थियो ।
डीआरडीओले यस रक्षा प्रविधिलाई ठूलो उपलब्धि मानेको छ ।
यस प्रविधिमार्फत कुनै पनि क्षेप्यास्त्रलाई हाइपरसोनिक स्पीडमा प्रहार गर्न सकिन्छ ।
सुपरसोनिकभन्दा पाँच गुणा बढी द्रुत गति यसको हुन्छ । यस गतिलाई माक–५ भन्छन् ।
यसको तीव्रताका कारण यो हिँडिरहेको बाटोमा भएको हावामा रहेको अणुका मोलिक्युल पनि फुटेर छरिन्छन् ।
डीआरडीओका अनुसार, प्रक्षेपण गरिएको यान आकाशमा ३० किलोमिटर माथिसम्म पुग्यो र त्यसले माक–६ को स्पीड लियो ।
नयाँ प्रविधिमा रकेटले वायुमण्डलबाट अक्सिजन लिन्छ र स्पीड बढाउँछ । रकेटमा दुईगुणा इन्धन भर्ने आवश्यकता पनि पर्दैन ।
यस प्रविधिको उपयोग वायुमण्डलभित्र मात्र गर्न मिल्छ । तर रकेट वायुमण्डलबाट बाहिर गएपछि यसले काम गर्दैन । यो प्रविधि सबभन्दा पहिले सोभियत संघले सन् १९९१ मा उपयोग गरेर माक स्पीड हासिल गरेको दाबी गरेको थियो ।
सोभियत संघको परीक्षणको धेरै वर्षपछि अमेरिकाले यसको सफल परीक्षण गर्यो अनि चीनले पनि परीक्षणमा सफलता पायो ।
स्क्य्रामजेट प्रविधि उपयोग गर्ने संसारको चौथो देश भारत बनेको छ ।
यसको उपयोग रकेट र क्षेप्यास्त्रमा गरिन्छ । कुनै पनि क्षेप्यास्त्रमा तीनवटा महत्त्वपूर्ण कुरा हुन्छन् ।
गति
क्षेप्यास्त्र कुन गतिमा पुग्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । स्क्य्रामजेट प्रविधिले क्षेप्यास्त्रलाई कति बलियो धक्का दिएर अघि बढाउँछ भन्ने कुरा महत्त्वपूर्ण छ । बढी धक्का दिएर क्षेप्यास्त्र वायुमण्डल बाहिर पुग्यो भने अक्सिजन नपाएर बेकार हुन्छ ।
इन्धन चल्ने समय
इन्धन कतिबेरसम्म चल्छ र क्षेप्यास्त्रको गति कतिबेरसम्म कायम रहन्छ भन्ने कुरा उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
लक्ष्यभेद
यो प्रविधिले क्षेप्यास्त्र वा रकेटलाई आफ्नो लक्ष्यसम्म सही तरिकाले पुर्याउँछ कि पुर्याउँदैन भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । तीव्र गतिसँगै लक्ष्यमा सटीक मार हान्न मुश्किल पर्छ । यति तीव्र गतिलाई ट्य्राक गर्न मुश्किल हुन्छ ।
यस प्रविधिले भारतलाई दुईवटा ठूला फाइदा दिलाउनेछ । रक्षा क्षेत्रमा यसको निकै ठूलो योगदान हुनेछ किनकि क्षेप्यास्त्र लक्ष्यसम्म पुग्नका लागि समय घट्छ । अनि अन्तरिक्षमा रकेट पठाउँदा इन्धन बच्छ । यसले भेहिकलको तौल पनि घटाइदिन्छ ।