
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनका शीर्ष अधिकारीहरूमाथि हतियार व्यापारीसँगको साँठगाँठमा युद्ध शुरू गर्ने गरेको आरोप लगाएका छन् । उनको टिप्पणीले उदारवादी आलोचक र आक्रामक परराष्ट्रनीतिका पक्षपोषकहरूलाई स्तब्ध बनाएको छ ।
‘सेनाले मलाई मन पराउँदैन, सैनिकहरूले मन पराउँछन्,’ ट्रम्पले सोमवार आयोजित पत्रकार सम्मेलनमा भने । ‘पेन्टागनका शीर्ष अधिकारीहरूले मलाई शायद मन पराउँदैनन् किनकि उनीहरू युद्ध लडिरहन चाहन्छन् ताकि बम र युद्धविमान बनाउने कम्पनीहरूले फाइदा लिन सकून् ।’
ट्रम्पले कार्यकालभरि विदेशी युद्धमा मरेका अमेरिकी सैनिकको अपमान गर्ने गरेको भनी पाँच दिनअघि दी एटलान्टिक पत्रिकामा आएको लेखले हंगामा मच्चाइरहेको बेलामा यस्तो टिप्पणी आएको हो । तर आफूले त्यसो नभनेको भनी ट्रम्पले लगातार अड्डी कसिरहेका छन् । समाचारमा ट्रम्पको दाबी नाम नखुलाइएका अधिकारी र सहयोगीको भनाइमा आधारित छ ।
सोमवार ट्रम्पले भने, ‘त्यस्तो कुरा कसले भन्छ ? जनावरले मात्र त्यस्तो कुरा गर्छ ।’
तर ट्रम्पको पछिल्लो टिप्पणीले मिडियामा राय दिने विज्ञ, डेमोक्रेटिक पार्टीका सांसद तथा आक्रामक परराष्ट्रनीतिका पक्षधर टिप्पणीकारहरूलाई स्तब्ध बनाएको छ र उनीहरूले यसलाई सेनामाथिको अभूतपूर्व आक्रमणको संज्ञा दिएका छन् ।
ट्रम्पका छोरा जुनियरले बुवाको समर्थन गर्दै रक्षा ठेकेदारहरूको बोर्डमा सेवानिवृत्त जनरलहरूलाई राख्ने दिने रिभोल्भिङ डोर नीति सदाका लागि खारेज गर्नुपर्ने बताए । यसले अन्त्यहीन युद्धलाई तत्कालै रोक्ने उनको भनाइ छ ।
तर पेन्टागनको कठोर आलोचना गरे पनि ट्रम्पले व्यापक सैन्य खर्च बढाएर अमेरिकाको सशस्त्र बलको पुनर्निर्मा(ा गरेको घमण्ड गर्ने गरेका छन् । अमेरिकाले रक्षा मामिलाका लागि गर्ने खर्च उसपछिका ११ मुलुकको बराबर छ ।
उनले साउदी अरब तथा अन्य साझेदारलाई लाखौं डलर बराबरको हतियार बिक्री गरेको पनि बताउने गरेका छन् । त्यस्तो बिक्रीले अमेरिकामा रोजगारी दिने र पैसा भित्र्याउने उनको दाबी छ ।