
सोमवार लोकान्तरमा ‘कर्णालीमा निर्बाध चल्दैछन् ‘ठग यातायात’ : यात्रुबाट टिकट विनै ५ हजारसम्म भाडा असुली’ शीर्षकमा समाचार प्रकाशित भएको २ घण्टामा नै जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
केही व्यक्तिको पास देखाउने अनि अन्य यात्रुबाट मनग्यै पैसा असुल्दै यात्रा गराउने गिरोह मध्येबाट प्रहरीले एउटा कालो नम्बर प्लेटको फोर्स गाडी र अर्को स्कार्पियो नियन्त्रणमा लिएको हो ।
भे१झ८६८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरको कपासेबाट नियन्त्रणमा लिइएको थियो भने भे१च २१३८ नम्बरको स्कार्पियो बराहतालको बड्डिचौरबाट नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए । उनका अनुसार गाडीमा पास बोकेका थोरै यात्रु र पास नभएका धेरै यात्रुलाई अन्य जिल्ला पुर्याउन लागिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
गाडी नियन्त्रणमा लिइसकेपछि यात्रुको गाडी भाडा फिर्ता गरिएको र आगामी दिनमा यसरी नचलाउने शर्तमा गाडी छाडिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यात्रु ठग्ने, अनुमति विना अन्य जिल्ला जाने र कालो धन्दा गर्ने जो कोहीलाई पनि कारवाही गर्न पछि नपर्ने बताए । ‘लोकान्तरमा समाचार आएलगत्तै हामीले टोली परिचालन गरेका थियौं,’ उनले भने, ‘२ गाडी मात्रै फेला परेका छन् । पहिलो पटक भएका कारण गल्ती नदोहोर्याउने शर्तमा छोडेका छौं । आगामी दिनमा कोही कसैले यस्तो गरेको भेटिएको खण्डमा कडा कारवाही गर्ने तयारी गरेको छु ।’