
बिहे गरेको ६ महिनामै शिशु जन्मिएपछि बैतडीमा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
८ कक्षामा पढ्ने किशोरी गत वर्ष कात्तिकदेखि नै स्थानीय एक शिक्षक, गाउँपालिकाका कर्मचारी र अन्य तीन स्थानीयबाट बलात्कृत हुँदै आएको खुलेको हो ।
एक महिनाअघि उनले छोरी जन्माएकी थिइन् । सुत्केरी भएपछि पनि घटना गाउँमै मिलाउने प्रयास भएकाले ढिलो गरी सार्वजनिक भएको हो । मंगलबार प्रहरीले ती १७ वर्षीया किशोरीलाई उद्धार गरेर सदरमुकामको अस्पताल पुर्याएको छ ।
उनले आफू ५ जनाबाट पटकपटक बलात्कृत भएको बताएकी छन् । स्थानीय ३१ वर्षका शिक्षक खड्कसिंह बोहरा, गाउँपालिकामा कार्यरत कर्मचारी केशव बोहरा र स्थानीय रामसिंह बोहरासँगै अन्य दुई जनाले बलात्कार गरेको आरोप छ ।
जाहेरीका आधारमा प्रहरीले तीन आरोपितलाई पक्राउ गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।