२५ जेठ २०८३, सोमबार

अब वायुसेवाले मागेजति उडान

भदौ २६, २०७७
अब वायुसेवाले मागेजति उडान

दस दिनअघि अन्तर्राष्ट्रियतर्फ आंशिक नियमित उडान खुला गरेको सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ ।

अब पीसीआर परीक्षण सहज भएका मुलुकबाट विदेशी तथा स्वदेशी वायुसेवा कम्पनीलाई मागेजति उडान अनुमति दिइने भएको छ । ‘यात्रुको पीसीआर नेगेटिभ हुनुपर्‍यो, वायुसेवा कम्पनीले मागेअनुसार अनुमति दिइनेछ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने ।

भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले चार्टर र नियमित दुवै उडानबाट आउने यात्रुको संख्या ८ सय पुर्‍याएको थियो ।

त्यसअघि यात्रु संख्या ५ सयको कोटा थियो । यो निर्णयले युरोप, अमेरिकालगायतका मुलुकमा अलपत्र परेका नेपालीलाई राहत हुनेछ । सरकारले पर्यटकलाई भने नेपाल आउन अनुमति दिइसकेको छैन ।

नेपालमा कूटनीतिक नियोग, दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तिनका परिवारलाई भने पीसीआर तथा भिसाका आधारमा आउन छुट छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच भएको उच्चस्तरीय छलफलपछिको सहमतिबाट बिहीबार गरिएको यो निर्णयलाई आवश्यक परे मन्त्रिपरिषद्ले अनुमोदन गर्न सक्ने पर्यटनमन्त्री भट्टराईले बताए ।

यो निर्णयले मनपरी भाडा असुलिरहेका वायुसेवाबीच प्रतिस्पर्धा हुने अपेक्षा मन्त्रालयले गरेको छ । पीसीआरबाहेक अरू विधिबाट जाँच भएका र जाँचै नगरेर यात्रु ल्याए सबैलाई सात दिन काठमाडौंका होटलमा क्वारेन्टाइन राखिने छ ।

सरकारले उनीहरूलाई जाँच गरेर थप १४ दिन होम क्वारेन्टाइन बस्ने सर्तमा मात्रै घर पठाउने छ । ‘पीसीआर नेगेटिभ भएका र जाँच नगरेका यात्रु मिसाएर ल्याएको पाइए त्यो वायुसेवा कम्पनीकै खर्चमा सबै यात्रुलाई होटलमा राखिने छ,’ मन्त्री भट्टराईले भने ।

बिहीबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय यात्रु ल्याउन बिहान ६ देखी बेलुकी ६ बजेसम्मको समयसीमा थियो । अब त्यो सीमा पनि हट्ने छ । आन्तरिकतर्फ उडान भने असोज १५ पछि मात्रै गर्ने प्रस्ताव मन्त्रालयले गरेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्