
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले शुक्रवार एक टिप्पणी प्रकाशित गर्दै चिनियाँहरू युद्धका लागि तयार भएर बस्नुपर्ने बताएका छन् ।
उनी लेख्छन् :
चिनियाँहरू युद्ध चाहँदैनन् तर चीनसँग भिड्नका लागि सीमाविवाद भएका छिमेकी मुलुकहरूलाई अमेरिकाले उक्साइरहेको छ । केही मुलुकहरू अमेरिकाको समर्थन पाएपछि रणनीतिक अवसर प्राप्त भएको र चीनलाई जस्तो व्यवहार गर्न पनि मिल्ने सोच बनाइरहेका छन् ।
उनीहरू अमेरिकाको रणनीतिक दबाबमा परी चीन उनीहरूसँग सैन्य भिडन्त गर्न आउन डराउँछ, अनिच्छुक वा असमर्थ छ भन्ठान्छन् ।
ताइवानको प्रश्न पनि जल्दोबल्दो रहेकाले चिनियाँ मुख्यभूमिलाई युद्धका लागि बाध्य बनाइने सम्भावना हालैका दिनमा ह्वात्तै बढेर गएको छ ।
चीनको केन्द्रीय स्वार्थको रक्षा गर्ने लक्ष्य लिएको आगामी युद्धका लागि चिनियाँहरू तयार हुनुपर्छ र यसको मूल्य चुकाउन पनि हिचकिचाउनु हुँदैन । त्यसरी चीनको विशाल सैन्यशक्तिलाई सबै किसिमका आक्रमणकारीहरूका विरुद्ध रणनीतिक निवारकका रूपमा परिणत गर्न सकिन्छ ।
बाह्य विश्वले चीन युद्धका लागि साँच्चै तयार छ भन्ने अनुभव गरेमा युद्ध टार्न पनि सकिएला ।
युद्ध भनेको खेलाँची हैन र हामीले जित्नैका लागि लडाइँ गर्ने हो । यस्तो किसिमको विजयको दुईवटा अर्थ हुन्छ, पहिलो, युद्धभूमिमा शत्रुलाई हराउनुपर्छ अनि दोस्रो, यो नैतिक रूपमा जायज हुनुपर्छ ।
चीनका सन्दर्भमा यो सही ठहर्छ किनकि चीन संसारको सबभन्दा बलियो शक्ति हैन । अमेरिकाले चीनलाई दमन गरिरहेको छ । हामीले अन्तर्राष्ट्रिय नैतिकतालाई दाउमा राखेर युद्धभूमिमा जितेछौं भने अमेरिकालाई चीनविरोधी साझेदारी बनाएर हाम्रो रणनीतिक स्थितिमा थप चुनौती दिलाउन सहयोग गर्नेछौं ।
चीनसँग भूमि विवाद भएका छिमेकीहरूसँग युद्ध भएमा हामी युद्धभूमिमा विजयी हुनेमा विश्वस्त छौं । अनि चीनको तट नजिकका सामुद्रिक क्षेत्रमा युद्ध भएछ भने पनि हाम्रो जीतको सम्भावना बढ्छ ।
नैतिकता चाहिँ चुरो कुरो हो । चीन उदीयमान शक्ति हो र उसलाई अमेरिका तथा पश्चिमले विचारधारात्मक रूपमा अस्वीकार गरेको छ । चीनसँग भूमि विवाद भएका मुलुक पनि एकअर्कासँग सहानुभूति राख्छन् । चीनले छिमेकी मुलुकसँग युद्ध गर्ने निर्णय लिएमा अन्तर्राष्ट्रिय समुदायले कमजोरको पक्ष लिनेछ । हाम्रा कदमहरू जायज ठहरिएनन् भने पनि नैतिक जोखिम उच्च छन् ।
अनि अमेरिकाले चीनविरुद्ध जनमत सिर्जना गर्नेछ । त्यसैले हामीले युद्धको जटिलतालाई नजरअन्दाज गर्नुहुँदैन ।
छिमेकी मुलुकसँग युद्ध गर्नुअघि चीनले निम्नबमोजिम काम गर्नुपर्छ :
पहिलो, चीनले नभई अर्को पक्षले यथास्थिति भत्काएको भनी हामीले स्पष्ट पार्नुपर्छ ।
दोस्रो, जटिल परिस्थितिमा अर्को पक्ष आक्रामक हो भनेर पनि हामीले स्पष्ट पार्नु जरूरी छ ।
तेस्रो, चीनले युद्धअघि तनाव मत्थर पार्नका लागि कूटनीतिक वा राजनीतिक प्रयासहरू गरेको भनी अन्तर्राष्ट्रिय समुदायलाई देखाउनुपर्छ ।
चौथो, पहिलो प्रहार अर्को पक्षले गर्नेछ, चीनले हैन । अन्तर्राष्ट्रिय समुदाय यस विषयमा पूर्ण सचेत हुनुपर्छ ।
पाँचौं, अत्यन्तै दबाबको स्थितिमा हामीले पहिलो प्रहार गर्नुपरेमा शुरूमै चेतावनी दिनुपर्छ ताकि जायज युद्ध सही तरिकाले शुरू गर्न सकियोस् ।
हामीले यी शर्तहरू पूरा गर्न सक्यौं भने चीनले परिआएमा युद्ध गर्छ भन्ने मेरो विश्वास छ । अमेरिकाले चीनको बेइज्जती गर्न खोजे पनि अन्तर्राष्ट्रिय समुदायले त्यतिखेर कुरा बुझ्छ कि चीन साना मुलुकलाई हेप्दैन तर युद्धमा जानुको विकल्प उससँग थिएन ।