
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन स्थायी कमिटी बैठकबाट अनुमोदन गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले अध्यक्षद्वयको कार्यविभाजनसम्बन्धी प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जसअनुसार प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्नेछन् भने प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी गतिविधि सञ्चालन गर्नेछन् ।
‘कार्यविभाजनको हकमा प्रधानमन्त्री ओलीले सरकार केन्द्रित भएर काम अगाडि बढाउने, प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने सहमति भएको छ,’ श्रेष्ठले भने, ‘सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन गर्नुपर्ने, राष्ट्रिय महत्त्वका निर्णयको हकमा सचिवालयको परामर्श तथा दुई अध्यक्षको परामर्शको आधारमा गर्ने निर्णय भएको छ ।’
प्रचण्डलाई कार्यकारी अधिकार दिनेगरी गत वर्षको मंसिर ४ गते भएको सहमतिलाई स्थायी कमिटी बैठकले अनुमोदन गर्दै कार्यान्वयनमा लगेको छ । पार्टी विवाद हल गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले मंसिर ४ को निर्णयको व्याख्या गर्दै प्रचण्डलाई कार्यकारी अधिकार दिन प्रस्ताव गरेको थियो ।
सरकारले ल्याउने नयाँ कानूनको विधेयकको सैद्धान्तिक पक्षका बारेमा केन्द्रीय कमिटी, स्थायी कमिटी या सचिवालयमा छलफल गरेर अगाडि बढ्ने सहमति भएको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पनि परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ ।
यसैगरी आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने र त्यसअघि कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।
यससँगै लामो समयदेखि अनिर्णयको बन्दी बनेको स्थायी कमिटी बैठक समापन भएको छ ।