
कास्की जिल्लामा भदौ २७ गते मध्यरातदेखि सार्वजनिक यातायात संचालन गर्न पाइने भएको छ । कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै सो नियम तत्काललाई असोज ७ गते राति १२ बजेसम्म कायम रहनेछ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार सार्वजनिक यातायातहरु स्वास्थ्य तथा सुरक्षाका मापदण्डअनुरुप भौतिक दूरी कायम गरी कुल सिट क्षमताको आधा अर्थात् एक लहरमा एक जना बस्ने गरी संचालन गर्न सकिनेछ ।
साथै, चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, गाडीको प्रवेशद्वारमै सेनिटाइजर उपलब्ध गराउनुपर्ने, दैनिक गाडी निःसंक्रमित गर्नुपर्नेछ ।
यसरी सार्वजनिक यातायात तथा निजी सवारीसाधन (दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे) बिहान ६ देखि साँझ ८ बजेसम्म जिल्लाभित्र मात्र चलाउन पाइनेछ ।
यसैगरी, प्रशासनले होटल तथा रेष्टुरेन्टमा टेक–अवे सुविधाका अलावा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी साँझ ६ बजेसम्म (सामूहिक भोज, पार्टी, सेमिनार, अन्य सामूहिक भेला हुने बाहेक) साँझ ८ बजेसम्म संचालनमा छुट गरेको छ ।
साथै, यसअघिका अन्य छुट सेवाहरु भने यथावत् छन् । कास्कीमा भदौ २ देखि १२ गतेसम्म निषेधाज्ञा कायम गरिएकोमा त्यसपछि अन्य सेवा खुकुलो पार्दै लगिएको छ ।