२५ जेठ २०८३, सोमबार

दुग्ध पदार्थमा खेलबाड गर्दै व्यवसायी, सरकारलाई बयान दिन अटेरी

भदौ २७, २०७७
दुग्ध पदार्थमा खेलबाड गर्दै व्यवसायी, सरकारलाई बयान दिन अटेरी

आमउपभोक्ताले उपभोग गर्ने दुग्ध पदार्थमा खेलबाड गरेका डेरी व्यवसायीले सरकारलाई बयान दिन अटेरी गरेका छन् । केही डेरी उद्योगले उत्पादन गरेको दही र दूधको नमुना परीक्षण गर्दा न्यून गुणस्तर भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बयान (स्पष्टीकरण) का लागि डेरी व्यवसायीलाई पत्र काटेको थियो ।

व्यवसायीलाई असार र साउनमा पत्र काटिएको विभागका विभागका निरीक्षक अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । ‘दूध र दही परीक्षणका क्रममा कैफियत भेटिएपछि स्पष्टीकरणका लागि पत्राचार गरिएको थियो । तर दुई महिना बित्दा पनि उपस्थित भएका छैनन्,’ उनले भने, ‘अब अन्तिम पटक पत्र काट्छौं, व्यवसायी विभागमा उपस्थित नभए प्रहरी प्रशासन गुहार्छौं ।’ करिब ८ महिनाअघि विभागले दुग्ध विकास संस्था (डीडीसी), सीताराम गोकुल मिल्क, नेपाल डेरी, राजधानी डेरी, पुष्प डेरी, भद्रकाली डेरी, हाम्रो डेरी उद्योग (एचडी डेरी) को दूध र दहीको नमुना संकलन गरी परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा दही र दूध न्यून गुणस्तरको भेटिएको थियो । कोलिफर्म र न्यून गुणस्तरको भेटिएपछि उद्योगीसँग बयान लिन र मुद्दा चलाउन ०७७ असार १५ मा सुवेदीलाई निरीक्षक अधिकृत तोकिएको थियो । उनले पत्र पठाउँदा व्यवसायी उपस्थित हुन अटेरी गरेका हुन् । विभागका अनुसार परीक्षणका क्रममा डीडीसीको बालाजु प्लान्टबाट दहीको नमुनामा कोलिफर्म भेटिएको, दूधमा फ्याट र ठोस पदार्थको मात्रा कम देखिएको थियो । बालाजु प्लान्टसँगै डीडीसीकै लैनचौरबाट पनि दहीको नमुना परीक्षण गर्दा पनि कैफियत देखिएको थियो । कोलिफर्म शून्य हुनुपर्नेमा प्रतिग्राम दहीमा १३ हजार सीएफयूसम्म कोलिफर्म भेटिएको थियो । सरकारी संस्थानले उत्पादन गर्ने दुग्ध पदार्थमा कैफियत भेटिएपछि खाद्यले ती कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाएको छ । डीडीसीबाहेक नेपाल डेरी एसोसिएसन र नेपाल डेरी संघकै पदाधिकारीले सञ्चालन गरेका डेरीका उत्पादन परीक्षण गर्दासमेत दही र दूधमा कैफियत भेटिएको थियो । ‘दही र दूधमा कैफियत भेटिनु भनेको डेरी उद्योगको चरम लापरबाही हो । यसले सरसफाइमा ध्यान नदिएको भन्ने बुझिन्छ,’ सुवेदीले भने ।

विभागले सीताराम गोकुल मिल्कको दूधको नमुना परीक्षण गर्दा ठोस पदार्थ ८ हुनुपर्नेमा ७.८ मात्रै थियो । नेपाल डेरीको दहीको नमुना परीक्षण गर्दा कोलिफर्म देखिएको थियो । राजधानी डेरीको दहीको नमुना परीक्षण गर्दा प्रतिग्राम ३८ सय कोलिफर्म देखिएको थियो । यस्तै पुष्प डेरी, भद्रकाली डेरी र एचडी डेरीको दही परीक्षण गर्दा पनि कैफियत देखिएको थियो । 

यी डेरीलाई बयानका लागि पत्र पठाए पनि अटेरी गरिरहेका छन् । व्यवसायीले बयान नदिँदा फाइल अगाडि बढाउन सकिएको छैन । साथै मुद्दासमेत चलाउन नसकेको विभाग स्रोतले बतायो । बयानका लागि अटेरी गरेपछि ती उद्योगको नवीकरण रोक्का गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । खाद्य ऐनमा हद म्याद नहुँदा समस्या भएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ‘परीक्षणमा कैफियत आएपछि सम्बन्धित निकायसँग बयान लिएर कानुनी प्रक्रियामा जानुपर्छ । तर ऐनअनुसार हद म्याद छैन,’ उनले भने, ‘बयान नलिई कारबाही गर्न पनि अप्ठ्यारो छ ।’ यद्यपि, कैफियत आएपछि ढिलोचाँडो कारबाही हुने उनले दाबी गरे । विभागले खाद्य ऐनअनुसार जिल्ला अदालतमा मुद्दा दायर गर्छ । सम्बन्धित शाखासँग बुझेर प्रक्रिया अघि बढाइने विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए । ‘आइतबारदेखि काम देखिने गरी बजारमा अनुगमन टोली पनि खटाउँछौं,’ उनले भने । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्