०८ असार २०८३, सोमबार

कोरोनापछि सामूहिक खेतीमा युवा

भदौ २७, २०७७
कोरोनापछि सामूहिक खेतीमा युवा
खेतमा रोप्न तयार हुँदै गरेका गोलभेंडाका बिरुवा मिलाउँदै युवा किसान लेखनाथ भुसाल । तस्बिर : कान्तिपुर दैनिक

कोरोना संकट बढ्दै जाँदा चैत ११ गतेदेखि सरकारले लकडाउन लगायो । गाडी नचल्दा र बजार सुनसान हुँदा तरकारीको खपत पनि ठप्प भयो । यसबाट ठूलो नोक्सानी बेहोर्ने किसान हुन् लेखनाथ भुसाल ।

भरतपुर महानरपालिका–२५ कृषि चोकका उनका बुबाआमाले २० वर्षदेखि तरकारी खेती गर्दै आएका थिए । दुई वर्षदेखि उनी यसमा प्रत्यक्ष संलग्न भए ।

पाँच बिघामा तरकारी खेती गर्ने भुसाल लकडाउनका कारण भएको नोक्सानी सम्झँदा दिग्दार लाग्ने बताउँछन् । बिक्री नभएर छिप्पिएका उनको बारीका लौकाको फोटो सञ्चार माध्यमहरूमा धेरै नै आयो । आफ्नो बारीको तरकारी उनले निःशुल्क बाँडे पनि । पाँच बिघाको तरकारी राम्रोसँग बेच्न पाएको भए २० लाख रुपैयाँको कारोबार हुन्थ्यो । यसमा पाँच लाख रुपैयाँ खर्च कटाएर १५ लाख बचत हुन्थ्यो ।

‘तर २० हजार जतिको तरकारी बिक्री भयो कि,’ भुसालले भने । खेतीको यस्तो दुर्दशा हुँदा विरक्त नचल्ने होइन । विज्ञानमा स्नातकोत्तर गरेका ३० वर्षीय भुसाल यत्रो नोक्सानी हुँदा पनि निराश भएर बसेका छैनन् । अहिले उनको जमिनमा बोडी फल्न सुरु भएको छ । लौका सुकेर फालेको बारीमा धान झुलेको छ । धान काटेपछि त्यहाँ भेडे खुर्सानी र गोलभेंडा लगाउने योजना उनले बनाइसकेका छन् ।

कोरोना संकट कहिले साम्य हुने हो थाहा छैन । पहिलेको जस्तै बिग्रिन बेर लाग्दैन । तर अब आउने खराब समयको पनि सामना कसरी गर्ने ? उनले त्यसको तरिका निकालेका छन् । अब आउने संकट टार्न सामूहिक खेतीमा जुटेका छन् । उनको टोलमा तरकारी खेती गर्ने २२ जनाको समूह बनेको छ । समूहको नाम छ ‘युवा आधुनिक कृषि सामूहिक खेती ।’ २२ जनामा अधिकांश ३०/३२ वर्षे युवा नै छन् । भुसाल समूहका संयोजक हुन् । ‘२२ जनाको ८० बिघा जमिन छ । ‘प्रत्येकलाई चार/पाँच बिघा जमिन भाग लगाउने । के–के लगाउँदा बजारको मागसँग सन्तुलन मिलाउन सकिन्छ, त्यही तरकारी लगाउने र रेखदेखको जिम्मा दिने,’ उनले सुनाए ।

सबैले एकै पटक एकै खाले तरकारी लगाउँदा बजारमा बिक्री गर्न र मूल्य पाउन समस्या हुन्छ । त्यसैले २२ जनाले फरक खालका तरकारी मिलाएर लगाउने छन् । भुसाल अध्यक्ष रहेको समूहका सचिव हुन् सुमन सुवेदी । त्यसैगरी आर्थिक समितिका संयोजक हुन्, सुजनबाबु भण्डारी । सँगै विद्यालय पढेका यी युवाहरूले कोरोना संकटसँग जुधेर तरकारी खेतीलाई जोगाउने जिम्मेवारी उठाएका छन् ।

‘सबैलाई कोरोना संकट परेको छ । किसानलाई मात्रै होइन । तर अघि बढ्न पनि पर्‍यो । कसरी अगाडि जानेभन्दा सामूहिक तरिकाले खेती गरौं भन्ने निधो गर्‍यौं,’ सचिव सुवेदीले भने । प्लटमा फरक–फरक तरकारी लगाउने, उत्पादन भएको तरकारीको बजार पनि सामूहिक रूपमा खोज्ने अभिभारा समूहले लिनेछ । ‘हामीलाई चाहिने मलबीउ पनि सामूहिक रूपमा नै किन्दा सस्तो पर्दो रहेछ । सबै मिलेर जमिन जोत्न ट्र्याक्टर किन्ने भएका छौं । तरकारी बोक्ने बोलेरो पनि सामूहिक लगानीमा किन्नेछौं । बजार बुझेर व्यापार पनि गर्नेछौं,’ सचिव सुवेदीले भने ।

विज्ञानको विद्यार्थी भएका कारण आफूले बीउको प्रभावकारिता अध्ययन गर्ने र मलको प्रयोग पनि उपयुक्त ढंगले गर्ने संयोजक भुसाल बताउँछन् । ‘मेरो सम्पर्कमा कृषिमै पीएचडी गरेका/गर्न लागेका साथी छन् । मलाई पनि केही आइडिया छ । तरकारी कसरी राम्रो बनाउन सकिन्छ भन्ने ज्ञान लिन सकिन्छ । समूहमा त्यसलाई उपयोग गर्न पाइयो,’ उनले भने । उनीहरूको गाउँ तरकारी खेतीका लागि कहलिएको ठाउँ हो ।

२५ नम्बर वडामा दुई सय बिघा जमिनमा तरकारी खेती हुने भुसालले बताए । आफूहरू टोलका मिलेर सामूहिक खेतीमा लागेका कारण अन्यत्र पनि यस्तै प्रयास हुन सक्ने उनको भनाइ छ । ‘आउने संकटलाई सामूहिक रूपमा मिलेर टारौं, लगानी एकीकृत गरौं भनेर मिलेका हौं । संकटले जुराएको हो । नभए पहिला दुई वर्षअघि सहकारी खोलौं भन्दा भयो भन्ने यही थिए,’ भुसालले भने ।

ध्रुव रानाभाट पनि यही समूहमा आबद्ध छन् । उनी तरकारी खेती गर्दा नाफा नदेखेर साउदी अरब गए । त्यहाँ ११ वर्ष बसेर फर्के । चार वर्षअघि फेरि तरकारी खेती सुरु गरे । १५ कट्ठाबाट सुरु गर्दै आठ बिघामा तरकारी लगाउन थालेका थिए ।

एकाएक कोरोना महामारी आयो । तरकारी नबिकेर बारीमै कुहियो । २५ लाख रुपैयाँ बराबरको तरकारी बारीमै जोत्नुपर्दा उनको होसहवास उडेको थियो । ‘भाइहरू आउनुभयो । जानेको यही खेती हो । मिलेर गरौं भन्नुभयो । त्यसपछि आँट आयो । म त केही सोच्नै नसक्ने अवस्थामा पुगेको थिएँ । सामूहिक रूपमा खेती गरौं, मिलेरै बेचौं भनेपछि मैले अढाई बिघामा तरकारी लगाइसकेको छु । हेर्दै जाउँ मिलेर काम गर्दा मिहिनेतको फल पाइएला भन्ने आशा छ,’ रानाभाटले भने । कसको प्लटमा के लगाउने, कसले के के जिम्मा लिने ? बजार कसले खोज्ने ? व्यापारीसँग कसरी सम्पर्क गर्ने भनेर समूहले निर्देशिका नै बनाएको छ । सबै सोहीअनुसार खेतीमा जुट्ने छन् ।

फलेको तरकारी बजार पठाउने छन् । ‘८० बिघामा एक करोडको हाराहारीमा लगानी गर्नुपर्छ । राम्रोसँग फलेर मूल्य पाए एक करोड रुपैयाँ नै आम्दानी हुन्छ । हामी संकट टार्न मिलेर लागेका कारण आशावादी छौं,’ भुसालले भने । कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्