०७ असार २०८३, आइतबार

रानीवन आइसोलेसनको बिजोक : संक्रमित प्रहरीहरूले २ दिनदेखि तातोपानीसम्म पाएनन् !

भदौ २७, २०७७
रानीवन आइसोलेसनको बिजोक : संक्रमित प्रहरीहरूले २ दिनदेखि तातोपानीसम्म पाएनन् !

काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ रानीवनमा रहेको आइसोलेसन सेन्टरमा रहेका संक्रमितले तातोपानी समेत खान नपाएको गुनासो गरेका छन् ।

कोरोना भाइरस संक्रमण भएर आइसोलेसनमा बसेका १०० भन्दा धेरै संक्रमित रहेको रानीवनको आइसोलेसन सेन्टरमा रहेका संक्रमितले बिजुली नभएकाले तातोपानी समेत खान नपाएको जनाएका छन् ।

बाहिरबाट आउने खाना समेत खानयोग्य नभएर फाल्नुपरेको एक संक्रमितले बताए । ‘बिजुली नआएको २ दिन हुन लाग्यो, तातोपानी पनि खान पाएका छैनौं,’ उनले लोकान्तरसँग भने, ‘बिहान–साँझ आउने भात पनि खान सकिने खालको आउँदैन ।’

आइसोलेसनमा रहेका १०० भन्दा धेरै व्यक्तिका लागि तातोपानी तताउने मशिन एउटा मात्रै रहेको उनले बताए । ‘संक्रमितले प्रयोग गर्ने शौचालय पनि फोहोरले दुर्गन्धित छ भने केही दिनदेखि नउठेको फोहोरले आइसोलेसन सेन्टर क्षेत्र दुर्गन्धित रहेको छ,’ उनले भने ।

संक्रमितले व्यवस्थापन पक्षलाई समस्याको समाधान गरिदिन आग्रह गर्दा व्यवस्थापनले प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव सहितको टोली आएपछि मात्रै समस्या समाधान हुने बताएको ती संक्रमितले लोकान्तरलाई बताए । 

रानीवन आइसोलेसन सेन्टर व्यवस्थापन गरिरहेका सुशील खनालले बिजुलीको समस्या रहेको स्वीकारेका छन् । ‘हाम्रोमा बिजुलीको समस्या छ । हामीले विद्युत् प्राधिकरणलाई भनेका छौं, समस्याको समाधान हुन्छ,’ खनालले लोकान्तरसँग भने ।

खनालले आइसोलेसन सेन्टरमा व्यक्तिगत रूपमा पानी तताउने भाडो, दैनिक आवश्यक पर्ने टावेल, ब्रस, साबुन लगायतका सामान दिएको दाबी गरे । तर आइसोलेसन सेन्टरमा रहेका संक्रमितले भने कुनै पनि सुविधा नरहेको गुनासो गरेका छन् ।

रानीवन आइसोलेसन सेन्टरमा अधिकांश प्रहरी अधिकृत र जवानहरू रहेका छन् । व्यवस्थापक खनालका अनुसार ३२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र अन्य जवानहरू रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्