
नेपाली कांग्रेस कास्कीले रुपा गाउँपालिका–६ बराहथोकका बाढीपहिरा प्रभावित परिवारलाई नगद सहयोग गरेको छ ।
पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार र हरिराम विकको परिवारलाई २/२ हजार नगद सहित खाद्यान्न सहयोग गरिएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
जिल्ला पार्टी सभापति कृष्ण केसी, पूर्व सभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापा सहितको टोलीले सहयोग रकम तथा खाद्यान्न बाढी प्रभावितलाई हस्तान्तरण गरे ।
भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुरिँदा काजि विककी छोरी सिर्जनाको मृत्यु भएको थियो भने २ घरपरिवार विस्थापित भएका थिए । कार्यक्रममा पूर्व मन्त्री थापाले प्रतिपक्षमा रहेर कांग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए ।
जिल्ला सभापति केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापनका लागि पार्टीका तर्फबाट सरकारसँग समन्वय गर्ने जानकारी दिए ।