०५ साउन २०८३, मंगलबार

यसरी हुँदैछ पर्यटक बस सञ्चालन गर्ने सुरसार

भदौ ३१, २०७७
यसरी हुँदैछ पर्यटक बस सञ्चालन गर्ने सुरसार

पर्यटक बस व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी थालेका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् । 

टुरिस्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसूस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिए । झण्डै ६ महिनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको हो । 

‘पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र स्यानिटाइज गर्ने जस्ता व्यवस्था गरेर मात्र बस सञ्चालन गर्न लागेका छौं,’ उनले भने । सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा १ जना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेको उनको भनाइ छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । कोभिड–१९ का कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष शर्माले बताए ।

हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या समेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । 

टिवानका महासचिव दीपेन्द्र अधिकारीले सरकारले पर्यटक बससेवालाई प्राथमिकता दिन नसकेको बताए । ‘मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटक क्षेत्रको बसका लागि सरकारले छुट्टै बसपार्क निर्माण गर्नुपर्छ, जसका कारण आन्तरिक तथा बाह्य पर्यटकहरू पर्यटक बसपार्कमा गएर बस चढेर गन्तव्यस्थलसम्म पुग्न सक्छन्,’ उनी भन्छन् । 

केही दिन पहिला नेपाल पर्वतारोहण संघ (एनएमए)ले गरेको भर्चुअल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । मन्त्री भट्टराईले पर्यटक बसपार्क निर्माणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताए ।

कोभिड–१९ को संक्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै ३ हजारदेखि ४ हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्‍याउँदै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्