भारत र चीनबीच रहेको वास्तविक नियन्त्रण रेखामा अघिल्लो साता भारतीय र चिनियाँ सैनिकहरूले हावामा गोली चलाएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ ।
पांगोङ तालको उत्तरी किनारमा फिंगर ४ मा चिनियाँ जनमुक्ति सेनाको गतिविधि हेर्न भारतीय सैनिकहरूले महत्त्वपूर्ण उचाइमा नियन्त्रण कायम गरेपछि गोली चलेको अधिकारीहरूले पत्रिकालाई बुधवार बताएका हुन् ।
अगस्ट २९–३० मा एलएसीमा गोली चलेदेखि यो तेस्रो घटना भएको बताइएको छ । चीनसँगको सीमा विवादका क्रममा ४५ वर्षपछि पहिलोपटक गोली चलेको हो ।
फिंगर ३ र ४ सिरिजाप रेन्जसँग मिसिने ठाउँमा गोली चलेको हो । त्यहाँबाट पांगोङ ताल पूरै देखिन्छ ।
तालको उत्तरी र दक्षिणी किनारामा दुई देशबीच सीमाविवाद छ र चारवटा क्षेत्रमा दुई पक्षका सैनिक आमनेसामनेको स्थितिमा छ ।
उनीहरू एकअर्कासँग सय मिटरभन्दा कम दूरीमा आमनेसामने छन् ।