
क्यारिबियाली मुलुक बार्बेडोसले उपनिवेशवादी विगत छोड्नका लागि रानी एलिजाबेथलाई राज्यप्रमुखबाट हटाउने घोषणा गरेको छ ।
उक्त देशमा संवैधानिक राजतन्त्र छ । सरकारप्रमुख निर्वाचित प्रधानमन्त्री हुन्छन् भने राज्यप्रमुख चाहिँ बेलायती महारानी रहिआएकी छन् । तर सन् २०२१ को नोभेम्बरसम्ममा बार्बेडोस गणतन्त्र बन्दैछ । त्यतिबेला उसले
बेलायती शासनबाट स्वतन्त्र भएको ५५औं वार्षिकोत्सव मनाउनेछ ।
प्रधानमन्त्री मिया मोट्लेले तयार पारेको सम्बोधनमा बार्बेडियनहरूले स्थानीयलाई नै राज्यप्रमुखका रूपमा हेर्न चाहेको बताइन् ।
रानीको कार्यालय बकिङघम प्यालेसले यो बार्बेडोस सरकार र जनताको चासोको विषय भएको प्रतिक्रिया दियो ।
प्रधानमन्त्रीको सम्बोधन गभर्नर जनरलले पढेर सुनाएका थिए । त्यसमा बार्बेडोसका पहिलो प्रधानमन्त्री एरोल ब्यारोले देश उपनिवेशवादी अवशेषमा रमाएर बस्नुहुँदैन भनेका थिए ।
सन् १९९८ मा संवैधानिक समीक्षा आयोगले बार्बेडोसलाई गणतन्त्र बनाउन सिफारिश गरेको थियो ।
बार्बेडोसअघि क्यारिबियाली मुलुक गायानाले सन् १९७० मा, ट्रिनिडाड यान्ड टोबागोले सन् १९७६ मा र डोमिनिकाले सन् १९७८ मा गणतन्त्र घोषणा गरेका थिए ।