१९ असार २०८३, शुक्रबार

रेलवे प्लेटफर्म र सुख्खा बन्दरगाहले फेरिँदै भेडियारीको मुहार

कात्तिक २०, २०७४
रेलवे प्लेटफर्म र सुख्खा बन्दरगाहले फेरिँदै भेडियारीको मुहार

इटहरी, २४ वैशाख — विराटनगरदेखि इटहरीसम्मको दुई लेन सडक ६ लेनमा स्तरोन्नतिको दृश्यले विराटनगर र आसपासका स्थानीयहरूलाइ खुशी बनाएको छ । सामाजिक सञ्जालहरूमा ६ लेनको बाटो बनेका दृश्यहरू हालेर स्थानीयहरूले सडकको विकासमा उत्साह पोखेका छन् ।

इटहरी र विराटनगर जस्ता पूर्वका दुई उपमहानगरपालिका जोड्ने व्यस्त तर साँघुरो सडक विस्तारको उत्साह जत्तिकै अर्को उत्साहको विषय तर कमैले चासो देखाएको विकासको काम पनि विराटनगरमा धमाधम हुँदैछ । त्यो हो – सुख्खा बन्दरगाह तथा रेलवे प्लेटफर्मको निरन्तरको निर्माण कार्य ।

साबिकको बुधनगर गाविसको वडा नम्बर पाँचमा रहेको भेडियारीमा बन्दै गरेका बन्दरगाह तथा रेलवे प्लेटफर्मका काममा शहरी सर्वसाधारणका आँखा नपुगेर त्यत्ति उत्साह सञ्चार हुन भने पाएको छैन । तर स्थानीयहरूमा भने व्यापक खुशी छाएको छ ।

भेडियारीको खुल्ला खेतमा भैसी चराउन व्यस्त भेडियारीका कित्यानन्द यादव धेरै खुशी देखिन्थे । ‘हामी पहिले गाउँमै थियो, तर अब हामी शहरी भएको छु’, ९०० बिगाहा क्षेत्रफलमा बन्दै गरको सुख्खा बन्दरगाहको घेराबारा र एकतलो बनिसकेको रेलवे प्लेटफर्म देखाउँदै यादवले भने, ‘अब चार लेन सडक आउँछ, रेल आउँछ, मार्केट आउँछ अनि हाम्रो ठाउँ धेरै चल्तीको हुन्छ ।’

सन् २०१४ को अन्त्यबाट बन्न शुरु रेलवे, बन्दरगाह र सडकका कामबाट खुशी भएर यादवले आफूले बेच्न आँटेको एक बिगाहा खेत समेत नबेचेको बताउँछन् ।

शम्भु कुमार मण्डल
स्थानीय कृषक यादव मात्रै होइन, विराटनगरको जुट मिलका कर्मचारी शम्भु कुमार मण्डल पनि वर्षौंसम्म पछिपरेको आफ्नो गाउँ रेलवे प्लेटफर्म र सुख्खा बन्दरगाहको भौतिक निर्माणले धेरै आशा पलाएको बताउँछन् ।
‘२०६९ तिरै सरकारले सुख्खा बन्दरगाहका लागि ९०० बिगाहा जग्गा लिएको थियो तर सरकारी काम कहिले हुन्छ होला भनेर धेरैले वास्तै गरेका थिएनन्’, भेडियारीको पोखरी परिसरमा लोकान्तरसँग मण्डलले भने, ‘म आफैं विराटनगर बजारको पोखरियामा रहेको खडेरीमा यहाँको एक बिगाहा जग्गा बेचेर घर बनाएर सर्न सोच्दैथिए तर जब भवनहरू बन्न थाले मलाई गाउँमै केही होला जस्तो लाग्यो र यतै कृषि गरेर रिटायर्ड लाइफ काट्न मन छ ।’

गाँउमा केही हुन्न भनेर गाविस हुँदा गाउँ छाड्नेहरू रेलवे प्लेटफर्म र बन्दरगाहको काम शुरु भएपछि पश्चात्तापमा परेको मण्डल सुनाउँछन् । उनी भन्छन्, ‘मैले पनि भावनामा आएर एक बिगाहा जग्गा बेचेर विराटनगरको पोखरियामा घर बनाएको भए मै पनि पछुताउने रहेछु ।’

‘विराट राजाको दरबार क्षेत्र अब दरबार जस्तै हुँदैछ’

महाभारतकालीन प्रखर राजा विराटको भग्नावशेष दरबार भएको क्षेत्र भएर पनि भेडियारी धेरै समय पूर्वाधार र विकासमा पछि नै थियो । फाट्टफुट्ट विराट राजाको प्राचीन दरबार क्षेत्र हेर्न र अध्ययन गर्न आउने आगन्तुक बाहेकलाई भेडियारीको परिचय नै थाहा थिएन ।

जब बुधनगर विराटनगरमा गाभिएर वडा नम्बर १८ भयो, तब मात्रै भेडियारी र बुधनगरबारेमा धेरैले थाहा पाए अनि गाउँमा चहलपहल शुरु भयो । विगत चार वर्षबाट रेल्वेको क्वार्टर, कल्भर्ट, पुल, प्लेटफर्म र सुख्खा बन्दरगाह बन्न थालेपछि भेडियारीमा चहलपहल मात्रै बढेको छैन, जग्गाको दाम पनि ह्वात्तै बढेर गएको छ ।

स्थानीय कमल शाहका अनुसार सरकारले सुख्खा बन्दरगाहको लागि जग्गा लिँदा एक बिगाहाको पाँचदेखि दश लाखसम्म मात्रै दिएको थियो तर आज एक कट्ठाकै पाँचदेखि दश लाख पर्न थालेको छ । अहिले त जग्गा किन्न र घडेरी खोज्न आउनेको ताँती लाग्ने गरेको शाह बताउँछन् ।

विकास र पूर्वाधारका कामले स्थानीयमा कस्तो उमंग आयो भन्ने अनुमानको उत्तर दिन्छन् स्थानीय पवन यादव । ‘हाम्रोबाट दु (दुई) किलोमिटर पारि जोगबनी छ, हाम्रो आँगनमै विराट राजाको प्राचीन दरबार पनि छ तर पनि हाम्रोमा बाटो, बिजुली र गाउँको मार्केट थिएन’, निर्माणाधीन रेल्वे प्लेटफर्ममा ज्यालादारी काम गर्दै आएका यादवले देखिने खुशी व्यक्त गर्दै भने, ‘अब बाटो, रेल, बन्दरगाहले त हाम्रो विराट राजाको दरबारक्षेत्र दरबार जस्तै हुँदैछ किनभने दरबारछेउमा त सबै सुविधा हुनुपर्छ नि । तर हाम्रोमा पहिले थिएन । अब हुन्छ ।’

‘तीन वर्षभित्रमा रेलवे र बन्दरगाह बनिसक्छ’

नेपाल भारत सहयोग अन्तर्गत बन्ने जोगबनी विराटनगर रेल प्रोजेक्टको लम्बाइ १८ दशमलब ६० किलोमिटरको हुने भारतको रेल्वेन्युज डटकम बताउँछ । भारतको बत्नादेखि विराटनगरको कटहरीसम्मको नेपाली भूभागको लम्बाइ १३ किलोमिटरको छ ।


यसअन्तर्गत जोगबनीदेखि भेडियारीसम्मका कामहरू धमाधम भइरहेका छन् । रेलको लिग बिच्छ्याउनुअघि चाहिने कल्भर्ट र पुल बनाउने, माटो भर्ने जस्ता कामहरू सकिएका छन् । भेडियारीमा त रेल्वे स्टाफ बस्ने क्वार्टर, पानी टंंकी र कार्यालय समेत बनेका छन् ।

नेपाल सरकारले बनाउने बन्दरगाहमा भने वरिपरि घेराबाराका लागि पिल्लर गाड्ने काम हुँदैछ । परियोजनाको एस्टिमेट अनुसार ९०० बिगाहा क्षेत्रफलमा बन्ने बन्दरगाहमा ५७० वर्गमिटरको प्रशासनिक भवन बन्नेछ भने २५० केभीको डिजेल जेनेरेटरलाई ब्याकअपमा राखेर चौबीसै घण्टा विद्युत् प्रवाह गर्ने व्यवस्था गरिनेछ ।

यसका साथै भारत हुँदै रेलबाट आयात र निर्यात गर्ने सामानका लागी आवश्यक अन्तर्राष्ट्रिय मुद्रा सटही केन्द्र तथा वित्तीय सुविधाहरू पनि उपलब्ध हुनेछन् । चमेनागृह, स्टाफ क्वार्टर लगायतका विविध पूर्वाधार र विकासका कामहरू यो सुख्खा बन्दरगाहमा व्यवस्था गरिने नेपाल सरकारको कार्ययोजना रहेको छ ।


भेडियारीमा सुुख्खा बन्दरगाह र रेलवेका कामहरू द्रुत गतिमा बढिरहेपनि कटहरी क्षेत्रमा भने जग्गा विवादका कारणले काम अगाडि बढ्न नसकेको रेल निर्माणको ठेक्का लिएको वाग्मती कन्स्ट्रक्सनका लेखा शाखा प्रमुख संजीव देव बताउँछन् ।

‘कटहरी क्षेत्रमा दर्जनभन्दा बढी घरहरू र केही जग्गाको विवाद अदालतसम्म पुगेकोले पनि हाम्रो प्रोजेक्ट चाँडो अगाडी बढ्न सकेन,’ देवले लोकान्तरसँग भने, ‘बाँकी विवाद नभएका ठाउँमा भने धमाधम बजेट आएका शीर्षकहरूमा काम हुँदैछन् ।’

वर्षात्, मधेस आन्दोलन र जग्गा विवाद नभएको भए काम अझ चाँडो सम्पन्न हुने उल्लेख गर्दै देवले भने, ‘सन् २०१४ को अन्त्यबाट शुरु यो परियोजना सबै कुरा मिल्दै गयो भने अबको तीन वर्षभित्रमा सम्पन्न हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्