
काठमाडौं, २४ वैशाख – पहिलो चरणको स्थानीय निर्वाचनमा ३ सय १६ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् । प्रदेश नम्बर ३, ४ र ६ मा हुन लागेको स्थानीय निर्वाचनको क्रममा सवा तीन सय प्रतिनिधि निर्विरोध छनौट भएका हुन् ।
एमाले अरु दललाई पछि पार्दै सबैभन्दा अघि छ । प्राप्त जानकारीहरू अनुसार एमाले अहिले सम्म एक सय ४२ वटा पदमा निर्विरोध निर्वाचित भएको छ । कांग्रेस ९४ पदमा निर्विरोध भएको छ भने माओबादी केन्द्र ३६ वटा पदमा निर्विरोध भएको छ ।
४२ जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् । राप्रपाका ४ जना उम्मेदवार निर्विरोध चयन भएका छन् भने नयाँ शक्ति र परिवार दलका एक एक जना विजयी भएका छन् । उल्लेखित सबै निर्विरोध निर्वाचित भएका हुन् ।
५६ वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । ६३ जना महिला वडा सदस्य, ७७ जना दलित महिला सदस्य र खुल्ला तर्फका एक सय १६ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
तीन वटा प्रदेशका २ सय ८३ वटा स्थानीय तहमा वैशाख ३१ गते निर्वाचित हुँदैछन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ता भएको दिन देखि अहिले सम्म यी उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
डोल्पाको शे फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।
फोक्सुन्डोमा एमाले टसी तुन्डुप गाउँपालिका प्रमुखमा विजयी भएका छन् भने नार्फुमा कांग्रेसका मिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् ।